काठमाडौँ । डोल्मा इम्प्याक्ट फन्डले ४० अर्ब रुपैयाँ अर्थात ३०० मिलियन डलरको ‘डाेल्मा क्याइमेट फन्ड’ कार्यन्वयनमा ल्याउने तयारी गरिरहेको छ । ठूलो क्षमताको जलविद्युत् आयोजनामा लगानी गर्न उद्देश्यले ‘डोल्मा क्याइमेट फन्ड’ ल्याउन लागिएको हो ।
ऊर्जा क्षेत्रमा थप लगानी बढाउनका लागि ४० अर्ब २५ करोड ४० लाख रुपैयाँको ‘डोल्मा क्याइमेट फन्ड’ ल्याउने तयारी गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रबन्ध निर्देशक बिध्यावारिधी सिग्देलले बताए ।
‘अहिले उक्त फन्ड सञ्चालनमा ल्याउनबारे छलफल भइरहेको छ,’ उनले भने, ‘सन् २०२४ भित्र सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको छ ।’ उनले ऊर्जा विकासका लागि जलविद्युत् प्रवर्द्धकहरूलाई डोल्मासँग सहकार्य गर्न पनि आग्रह गरेका छन् ।
डोल्मा इम्प्याक्ट फन्डले नेपालको नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र प्रविधि क्षेत्रमा लगानी गरिरहेको छ । हालसम्म ७५ मेगावाट विद्युत् आयोजनामा लगानी गरिरहेको पनि सिग्देलले बताए । लगानी भएकामध्ये कुनै आयोजना सञ्चालनमा आइसकेका छन् भने केही आयोजना निर्माणका चरणमा छन् । डोल्माको पहिलो कोष सन् २०१४ बाट सुरु भएको थियो ।