Sunday, May 25, 2025
spot_img

एइपिसीको २८औं वार्षिकोत्सवः नवीकरणीय ऊर्जा विस्तारमा योगदान पुर्याउने ४ कम्पनी सम्मानित

spot_img

Share

spot_img

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)को २८औं वार्षिकोत्सव सम्पन्न भएको छ । केन्द्रको वार्षिकोत्सव कात्तिक १३ गते (मंगलबार) सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा नवीकरणीय ऊर्जाको विकास प्रवर्द्धन एंवम विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने ४ कम्पनी सम्मानित भएका छन् । सम्मानित हुनेमा लघु तथा साना जलविद्युत तर्फ तारा खोला जलविद्युत् लिमिटेड, सौर्य ऊर्जा तर्फ सुर्यद्वय ऊर्जा प्रालि र जैविक ऊर्जातर्फ जान्दादेवी नेपाल इनर्जी प्रालि, दुम्कीवास पोल्ट्री फार्म प्रालि रहेका छन् । यसैगरी, केन्द्रले २० वर्ष सेवा अवधि पुगेकोको सिर्जना पाण्डेलाई कदरपत्रसहित सम्मान गरेको छ ।

केन्द्रको २८औं वाषिकोत्सवको अवसर सुभकामना दिँदै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासमा एइपिसीले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकालाई अझै प्रभावकारी हुँदै जानुपर्ने बताए ।

उनले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक २०८०’ छिट्टै पारित गर्ने तयारी भइरहेको जानकारी दिए । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका समग्र विषय समेट्ने गरी तयार पारेको उक्त विधेयक दुवै सदनबाट पारित हुने चरणमा छ । नवीकरणीय उर्जालाई समयसापेक्ष रुपमा विकास गर्नका लागि आवश्यक विद्येयक, ऐन, नियमलाई चाँडो पास गछौँ,”– मन्त्री खड्काले भने । उनले नवीकरणीय उर्जा र उर्जा दक्षताको विकासका लागि लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए ।

उर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्नका लागि केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । “हामीसँग भएको स्रोत र साधनको भरपुर प्रयोग गरी सरकारले राखेको लक्ष्य पुरा गर्न लाग्नुपर्छ, उनले भने ।

मन्त्री खड्काले द्धन्द्धकालको समयमा स्थानीय तहमा विद्युत अवरोध हुँदा केन्द्रले गाउँगाउँमा गएर पुर्याएको सहयोगको सराहना गरे । उनले विदेशीले ऋण, सहयोग र अनुदान नेपाली जनतालाई सम्झेर दिएको भन्दै उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत आग्रह गरे ।

नेपालमा दीगो ऊर्जा विकासका लागि नवीकरणीय तथा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने र कार्बन उत्सर्जन कटौती गर्ने विषयमा नेपालले लिएको अन्तराष्ट्रिय प्रतिबद्धता पूरा गर्नुलाई सरकारले गम्भिरताका साथ लिएको बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले नविकरणीय उर्जाको पहुँचमार्फत विद्युतको पहुँच पुर्याउन र देश खाना पकाउने स्वच्छ उर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरु सराहनीय रहेको बताए । राज्यमन्त्री तामाङले देशव्यापी नवीकरणीय उर्जाको पहुँच विस्तार गर्नका लागि केन्द्र अझै शशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताए । उनले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विधेयक तिहारलगतै पारित हुने बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारणको लाईन नपुगेका क्षेत्रमा सौर्य उर्जामार्फत विद्युत प्रवाहमा केन्द्रले खेलेको भूमिका सकारात्मक रहेको बताए । उनले केन्द्रले विद्युतमार्फत ग्रामीण व्यवसायको विकासमा पुर्याएको योगदानको उच्च प्रशंशा गरे ।

राष्ट्रिय याेजना आयोगका सदस्य प्रो.डा.आरपी बिच्छले ऊर्जा प्रवर्द्धनमा नवीन तरिकाले जानुपर्ने बताए । उनले विद्युत् मात्र नभएर ग्रिन हाइड्रोजन, ग्रिन एमोनिया, मिथेनलगायतको विस्तार तथा विकासतर्फ अहिलेनै जानुपर्ने बताए ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) का अध्यक्ष कुशल गुरुङले हालै नेपाल विद्युत् प्राधिकरणले सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रहेकोले ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको कोटा बढाउनुपर्ने बताए । नेपालमा सौर्य ऊर्जाको संभावन व्यापक रहेको यसको फाइदा उठाउनुपर्ने बताए ।

कार्यक्रममा एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाको २८ वर्षमा एइपिसीले विद्युतीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । केन्द्रले संघिय सरकार, स्थानीय तह, विकास साझेदार र निजी क्षेत्रको सहकार्यमा काम गरिरहेको छ ।

कार्यकारी निर्देशक ढकालले केन्द्रले स्थापनाकालदेखि हालसम्म आइपुग्दा ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत आयोजना निर्माण गरिसकेको बताए । यस्तै, ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, ९ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान, ४ हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली जडान, ३ हजार ९७ किलोवाट पिक सौर्य मिनिग्रीड जडान गरिसकेको जानकारी दिए । केन्द्रले हालसम्म देशको करीव ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको कार्यकारी निर्देशक ढकालको भनाई छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img