काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडले २३५६ मेगावाटका जलविद्युत् आयाजनाको ५१ प्रतिशत संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजनाको स्वपूँजी लगानीको ५१ प्रतिशत रकममा लगानी साझेदारी गर्ने गरी सेयर बिक्रीको प्रस्ताव आह्वान गरेको हो ।
कम्पनीले ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त र १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । कम्पनीले सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा लगानी जुटाउने गरी प्रक्रिया अघि बढाएको हो ।
यी आयोजनाको स्वपूँजीको कम्तीमा ५१ प्रतिशत लगानी गर्ने गरी लगानी साझेदारी गर्न चाहने इच्छुक नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्थाले आशयपत्र पेश गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
मुगु कर्णालीका लागि न्यूनतम ४८ करोड ७२ लाख ४३ हजार ४२३ रुपैयाँ र किमाथांका अरुणका लागि ९० करोड ८१ लाख ९ हजार ३०२ रुपैयाँ वा सो भन्दा माथि लगानी रकम उल्लेख गरी प्रस्ताव पेश गर्नुपर्नेछ ।
कम्पनीले दुवै आयोजनाको २५ प्रतिशत स्वपूँजी लगानी र ७५ प्रतिशत ऋण लगानी हुने गरी वित्तीय संरचना तय गरेको छ । किमाथांका अरुण निर्माण गर्न ९३ अर्ब ८० करोड र मुगु कर्णाली निर्माण गर्न ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
मुगु कर्णाली
यस आयोजनाको ड्याम पिलुचौरमा निर्माण गरिनेछ । आयोजनाका अनुसार ड्याम २८५ मिटर अग्लो हुनेछ । ड्यामकै आसपासमा आयोजनाको पावर हाउस निर्माण हुनेछ । सरकारले अगाडि सारेको आगामी १२ वर्षमा २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न यस्ता प्रसारण लाइन महत्वपूर्ण मानिन्छन् ।
आयोजनाबाट उत्पादित १९०२ मेगावाट विद्युत् फुकोट सबस्टेसनमा जोड्ने सम्बन्धी द्विपक्षीय समझदारी भइसकेको छ । आयोजनाबाट उत्पादित बिजुली ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ । मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।
किमाथांका अरुण
संखुवासभाको भोट खोला गाउँपालिका–२ मा निर्माण हुने आयोजनाको काम सम्पन्न गर्न ९३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत् प्राधिकरणको एनईए इन्जिनियरीङ कम्पनी लिमिटेड हो ।
आयोजनाका लागि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घनमिटर क्षमताको जलाशय निर्माण हुनेछ । गाउँपालिका–२ लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङमुछीमा विद्युतगृह निर्माण हुनेछ । आयोजनामा ५ हजार ९१८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ । आयोजनामा ४ वटा टर्वाइन निर्माण हुनेछ । यो आयोजना पूरा भएपछि वार्षिक करिब २६५५.१२ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।
यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरूले प्रस्ताव गरिरहेका छन् ।