Monday, September 14, 2026
spot_img

लघु जलविद्युत् विकास र ग्रामीण उद्यमशीलता

spot_img

Share

spot_img

नवीकरणीय ऊर्जा देशको आर्थिक विकासको मेरुदण्ड हो । जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु जलविद्युतको विकास र उपयोग प्रभावकारी उपाय हो । ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक र भौतिक विकास सन्तुलित रूपमा नभई नेपालको दिगो विकास हुन सक्दैन । ग्रामीण नेपालको दिगो आर्थिक तथा औद्योगिक विकासको धेयले लघु जलविद्युत् विकासको पहल हुनु पर्दछ । नेपालमा लघु तथा साना जलविद्युत् विकासलाई ग्रामीण विकास र उद्यमशीलताको लक्ष्य राखेर बनाइएको छैन ।

नेपालमा साना जलविद्युत्को विकास प्रारम्भ भएको ११३ वर्ष पूरा भयो । त्यसमा पनि प्रारम्भमा शासकको सोखका लागि बिजुली उत्पादन सुरु भएको पाइन्छ । वि.सं. १९६८ मा पहिलो जलविद्युत् बनाउँदादेखि नै विद्युत् केका लागि उत्पादन गर्ने भन्ने द्विविधा रहँदै आएको पाइन्छ । ५०० किलोवाट जडित क्षमताको पहिलो जलविद्युत् उत्पादन गर्दा राणाहरूको दरबारमा बत्ती (उज्यालो) को सुविधा पुर्याउन फर्पिङ विद्युत गृह आयोजना निर्माण गरिएको थियो । आयोजनाबाट विद्युत् उत्पादन गरेर सिधै चन्द्रशमशेरको दरबार र पछि विस्तारै भाइभारदारका घरमा पुर्याएकोबाट राणाहरूको सुविधा र सोखका लागि बिजुली निकालिएको प्रष्ट हुन्छ । भाइभारदारका घर, महल र दरबारमा खपत भएर वचत भएको विद्युत् मात्र लाइनको बाटामा पर्ने गाउँबस्तीहरूमा दिइएबाट प्रस्ट हुन्छ कि पहिलो बिजुली राणा परिवारका लागि नै थियो । यसमा आर्थिक लाभको उदेश्य रहेको पाइँदैन ।

फर्पिङ अर्थात् ‘चन्द्रज्योति विद्युत् गृह’ निर्माणको ३१ वर्षपछि नेपालको दोस्रो विद्युत् आयोजनाको रूपमा ६४० किलोवाट जडित क्षमताको सुन्दरीजल विद्युत् गृह निर्माण भएको हो । सुन्दरीजल आयोजनामा ३२० किलोवाट क्षमताका दुईवटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन गरिएको थियो । विद्युत् प्राधिकरणले वि.सं. २०७५ सालमा यो विद्युत् गृहको स्तरोन्नति गरी पुनः सञ्चालन गरिरहेको छ । राणाकालमा निर्माण भएका पहिलो र दोस्रो विद्युत् आयोजना खास गरेर राणाहरूको बिलासिता र दरबारको उपभोगका लागि बनाइएका थिए । त्यतिबेलासम्म विद्युत् आर्थिक विकासका लागि हो भन्ने सोच राखिएको पाइँदैन ।

वि.सं. १९९९ मा विराटनगर जुटमिलको लागि १६०० किलोवाट जडित क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड स्थापना गरी लेटाङ खोलामा साना जलविद्युत् आयोजना निर्माण गरियो । औद्योगिक उपयोगका उद्देश्यले उत्पादन गरिएको यो नै पहिलो विद्युत् आयोजना भएको पाईन्छ । समयक्रम र देशमा आएको राजनीतिक परिवर्तनपछि क्रमशः अरु विद्युत् आयोजनाहरू निर्माण र विकास भएको हो ।

वि.सं.२००७ सालमा राणाहरूको शासन अन्त्य भएपछि समाजमा आएको जागरण र चेतनासँगै जलविद्युत् विकासले पनि विस्तारै फड्को मार्दै अगाडि बढ्दै गयो । सुन्दरीजलपछि खोपासी, सुनकोशीलगायतका विद्युत् उत्पादन गृहहरू निर्माण हुँदै गए । क्रमशः कुलेखानी, मर्स्याङ्दी, तिनाउ, आँधीखोला र झिमरुकजस्ता मध्यमस्तरका आयोजनाहरू पनि निर्माण भए र धिमा गतिमा देशको विद्युत् विकास भइरह्यो । यस अवधिसम्म पनि विद्युत् उत्पादनको मूल धेय ठूला सहरको आवश्यकता पूर्ति गर्नु रहेको पाइन्छ । उत्पादित विद्युत् काठमाडौँ, विराटनगर, पोखरा, बुटवल र नेपालगञ्जजस्ता मुख्य शहरको बिजुलीको मागलाई ध्यानमा राखेर निर्माण र विकास भएको प्रस्टै देखिन्छ ।

वि.सं.२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि भने विद्युत् विकासले गति लिन थालेको हो र देशको ग्रामीण क्षेत्रको विद्युतीकरणले पनि प्राथमिकता पाउन थालेको हो । ग्रामीण विद्युतीकरणलाई महत्व दिन थालिएपछि जलविद्युत् विकासमा दुईवटा पद्धति अबलम्बन हुन पुगे । पहिलो, ठूला जलविद्युत् आयोजनाहरूको विकास र विद्युत् क्षेत्रमा व्यापारिकीकरण । दोस्रो, लघु तथा साना जलविद्युत् विकासका माध्यमबाट ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच ।

नेपालमा लघु जलविद्युत् विकास सन् १९६० को दशकमा फर्पिङ्बाट आरम्भ भए तापनि त्यतिबेलासम्म ग्रामीण क्षेत्रको बिजुलीको आवश्यकताले प्राथमिकता पाएको थिएन । विद्युत् भनेको शहर र सोखको वस्तुको रूपमा मात्र सिमित थियो । त्यसै अनुरूप ठूला विद्युत् आयोजना निर्माण गर्ने, विद्युत् व्यापार गर्ने, निजीक्षेत्रको लगानी प्रवर्द्धन गर्ने र नाफा केन्द्रित किसिमको विद्युत् विकास गर्ने पद्धति प्रारम्भ भयो । यस्तो पद्धति आजपर्यन्त चली नै रहेको छ । यसबाट विद्युत्लाई व्यापारिक दृष्टिकोणबाट मात्र हेरिने चलन स्थापित भयो ।

नाफाका लागि लगानी, विकास तथा वितरणसम्म व्यापारिक सोच र मूल्य मान्यतामा रहेर विजुलीको विकास गर्दा नेपालको विद्युत् नाफा केन्द्रीत प्रवृत्तिको प्रभावमा पर्न थालेको हो । ‘विद्युत् विशुद्ध व्यापारिक वस्तु हो वा सामाजिक पनि’ भन्ने विषय नेपाली समाजमा अझसम्म बहस भएकै छैन । जलविद्युत् विकासमा सार्वजानिक र निजीक्षेत्रको सन्तुलन र सामाजिक पक्षको लेखाजोखा हुन जरुरी छ ।

बहुदलीय प्रजातन्त्रको आगमनसँगै सन् १९९० को दशकपछि लघु जलविद्युत् र ग्रामीण क्षेत्रको विकासमा सघाउ पुर्याउन धेरै विकास साझेदारहरू र मित्र राष्ट्रहरू इच्छुक भए । सबैको साझा बुझाई नेपालमा ग्रामीण क्षेत्रको विकास गरेर मात्र देशको विकास सम्भव छ । ग्रामीण क्षेत्रमा आधुनिक ऊर्जा, खानेपानी, सिँचाइ, शिक्षा र सडकजस्ता आधारभूत क्षेत्रको विकास गरेपछि मात्र देशको विकास गर्न सकिन्छ भन्ने सोचका साथ धेरै क्षेत्रमा विकास र सुधारका पहल हुन थाले । दोस्रो पद्धतिको रूपमा ग्रामीण ऊर्जा विकासका कार्यक्रमहरू पनि सञ्चालन हुन थाले ।

ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको पहुँच बढाउन लघु जलविद्युत्, सोलार टुकी जस्ता प्रविधिहरू प्रवर्द्धन भए । गाउँघरमा सफा र भरपर्दो विद्युत् भएपछि धेरै प्रकारका घरायसी कामहरूमा सरलता ल्याउँछ । घरभित्रको मट्टितेलको धुवाँ हटाउन, पढाईलेखाई, सरसफाई र कुटानी–पिसानी जस्ता काममा प्रभावकारिता ल्याउँछ । मोबाइल, टेलिभजन र कम्प्युटरजस्ता आधुनिक प्रविधिको प्रयोगबाट मानिसलाई बाह्य संसारसँग पहुँच पुर्याउन मद्धत गर्दछ । सञ्चार र सूचनामा पहुँच पुग्नाले मानिसलाई धेरै कुरा छिटो बुझ्न र थाहा पाउन सहयोग पुग्दछ । यस्ता आयोजनाहरूबाट उत्पादित विद्युत् पछिल्लो समयमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग गर्नसमेत उपयोग हुन थालेको छ ।

अधिकांश लघु जलविद्युत् उपभोक्ताहरूले स्थानीय ठाउँमा बजार नपाउँदा उत्पादित विद्युत्को ठूलो हिस्सा खेर फालिरहेका छन् । यसलाई बिक्री गर्नसके समाजको आयस्रोत राम्रो बन्दछ । खाना पकाउने ऊर्जाका लागि गोवरग्याँस, सुधारिएको चुलो, सुकाउने सोलार ड्रायर जस्ता प्रविधिहरू पनि गाउँगाउँमा पुर्याउने काम भएको छ । कर्णाली उज्यालो र टुकिमारा जस्ता स—साना उज्यालाका प्रविधिहरू गाउँगाउँमा जडान गरिए । सबै प्रविधिहरू ऊर्जा आपूर्तिका दिगो समाधान भने अवश्य नै होइनन् । सबै प्रविधिहरू बत्ती बाल्न वा उज्यालेका लागि लघु जलविद्युत् आयोजनाहरू विकास र जडानलाई उच्च प्राथमिकतामा राखियो । उज्यालोका लागि उपहारको रूपमा बनेका जलविद्युत्बाट अरु लाभ तथा व्यावसायिक सम्भावनातिर ध्यान दिइएन ।

लघुजलविद्युत् आयोजनाहरू उपहारको रूपमा समुदायलाई हस्तान्तरण भए । समूहले सञ्चालन व्यवस्थापन गर्ने र बत्ती बाल्नेमा आयोजना विकासको उद्देश्य सिमित देखिन्छ । लघु जलविद्युत् उत्पादन आफैँ उद्यमशीलता हो, यसबाट लगानीअनुसार प्रतिफल प्राप्त गर्ने र व्यावसायिक लाभको सोच पनि नभएको पाइन्छ । ग्रिडमा विद्युत् जोडने अवस्था पनि थिएन, गाउँघरमा विजुली खपत गर्ने उद्योग व्यवसाय पनि थिएनन् । वर्तमान समयमा धेरै ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रणाली पुगेको हुँदा अब लघु जलविद्युत्को उत्पादन पनि ग्रिडमा पठाउन सम्भव भएको छ । उत्पादन भएको विजुली खेर फालिरहनुपर्ने अवस्था छैन । लघु जलविद्युत्को विकास संरक्षण र दिगो उपयोग नै नेपालका दूरदराजका गाउँका लागि आधुनिक ऊर्जा स्रोत र उद्यमशीलताका सम्भावना छन् ।

नेपालमा दुई हजारभन्दा अधिक सङ्ख्यामा लघु तथा साना जलविद्युत् आयोजनाहरू बनेका छन् भन्ने तथ्याङ्कले देखाउँछन् । आयोजनाहरू गाउँघरमा विजुलीको सुविधा पुर्याउन प्रभावकारी र सहयोगी भएका छन् । लघु तथा साना जलविद्युत् आयोजनाले उज्यालो मात्र दिएका छैनन्, गाउँघरमा उत्पादित विद्युत्को प्रयोगबाट धेरै सानातिना उद्योगधन्दाहरू पनि सञ्चालन भएका छन् । कुटानी, पिसानी, फर्निचर र बेकरीजस्ता अनेकौं उत्पादनमूलक काममा विजुलीको उपयोग गरेर फाइदा लिइराखेको अवस्था छ । लघु तथा साना जलविद्युत्बाट समुदाय र देशले ग्रामीण क्षेत्रको आर्थिक विकासमा फाइदा लिनसक्ने सम्भावना छ । साथै लघु जलविद्युत्को विकास र राष्ट्रिय प्रणालीमा विजुली बिक्री गर्नसक्ने अवस्था छ ।

समाजले गुणात्मक रूपमा लघु जलविद्युत्को सम्भावनाबाट लिनसक्ने जति लाभ लिन सकिरहेको छैन । विषेशगरी ग्रामीण समुदायले अपेक्षित रूपमा त्यस्तो लाभ पाउन सकैको देखिँदैन । ग्रामीण समुदायमा पूँजी, प्रविधि र व्यावसायिक क्षमता कम भएका कारण उनीहरूले जलविद्युत् उत्पादनमा आफूलाई सामेल गराउनै सकेका छैनन् । परिमाणात्मक रूपमा ठूला जलविद्युत्बाट आउने व्यापारिक लाभमा निजीक्षेत्रको उच्च प्राथमिकता रहे पनि सानामा निजी क्षेत्रको आकर्षण छैन । ठूलाबाट आउने आर्थिक तथा व्यापारिक लाभको तुलनामा सानालाई सानो रूपमा हेर्न थालियो । अहिले पनि लघु जलविद्युत्ले उत्पादन गर्ने सर्वाधिक सफा ऊर्जाको महत्वलाई नजरअन्दाज गरिँदैछ र ठूला आयोजनामा सबैको ध्यान गइरहेको छ ।

ग्रामीण समुदायले प्राविधिक तथा आर्थिक रूपले लघु जलविद्युत्मा लगानी गर्न र ब्यावसायिक लाभ लिन सकेन । जसले गर्दा आर्थिक, ब्यावसायिक र पर्यावरणीय पक्षमामा रहेका लाभको सम्भावनाबाट पनि टाढा रह्यो । अवसर र सोहीअनुसार लाभ लिनका लागि लघु जलविद्युत्का बारेका हाम्रो दृष्टिकोण बदलिन आवश्यक छ । विगतमा लघु जलविद्युत् भनेको राष्ट्रिय प्रणाली नआएसम्मका लागि विजुलीको पहँुच र उज्यालोको साधन हो भन्ने मान्यता बदल्न जरुरी छ । अब लघु जलविद्युत् उपहार र उज्यालोको साधन मात्र होइन, यो त हाम्रो परिवेशमा ग्रामीण उद्योग हो, वातावरण बचाउने उपाय र सामाजको उद्यमशील क्षमता विकास गर्ने प्रस्थान बिन्दु हो भनेर काम गर्नु पर्दछ ।

लघु जलविद्युत्को विकास जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सर्वोत्तम उपाय हो । सरकारद्वारा विश्व समुदायसामु प्रतिबद्धता गरिएको जलवायु परिवर्तनमा निर्धारित राष्ट्रिय योगदान (एन्डीसी) को लक्ष्य पूरा गर्न लघु तथा साना जलविद्युत्को विकास र प्रयोगले प्रत्यक्ष सहयोग पुर्याउँछ । साना जलविद्युत् निर्माण गर्दा ठूला संरचनाहरू बनाइराख्नु पर्दैन । बाँधजस्ता ठूला संरचना निर्माण गर्न आवश्यक नभएकाले यिनीहरूले वातावरण विनास गर्ने कुनै सम्भावना रहँदैन । खोलाको पथान्तरण पनि आवश्यक हुँदैन । वनजङ्गल नासिँदैन र खेतीयोग्य जमिन मासिँदैन तर यसले दिने ऊर्जा सर्वाधिक सफा हुने हुँदा हरितगृह ग्याँस उत्सर्जन घटाउन विशेष सहयोग गर्दछ । यसलाई राष्ट्रिय प्रणालीमा जोड्न पनि सकिने भएकाले प्रत्यक्ष रूपमा जैविक इन्धनको खपत घटाउन राष्ट्रियस्तरमा नै सहयोग पुर्याउँछ ।

नेपालका गाउँघरमा हजारौंको सङ्ख्यामा लघु तथा साना जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना अझै रहेको छ । लघु जलविद्युत् सानो भएकाले यसको महत्व र सम्भावनालाई न्यूनीकरण गरिएको छ । सानासाना जोडेर ठूलो परिमाणको विद्युत् हुन्छ र यसले राष्ट्रिय आवश्यकता पूरा गर्न सहयोग पुर्याउने नै भयो । पर्यावरण संरक्षण, वातावरण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने पहलहरूमा सहयोग पुर्याउँछ भन्नेबारेको जानकारी नभएको होइन । जानकारी भएर पनि निजी क्षेत्रको प्राथमिकता ठूला र बढी आर्थिक लाभ वा नाफातिर भएकाले हो भन्ने प्रष्टै छ । साना जलविद्युत् निर्माण गर्दा मेघा आयोजनाको तुलनामा प्रतिकिलोवाट लागत बढी पर्न जान्छ । ऊर्जाको सफापन र वातावरणीय लाभका हिसाबले सानाको फाइदा अझ धेरै छ भन्नेतर्फ हेक्का राख्नु पर्दछ ।

लघु तथा साना जलविद्युत्को यथोचित विकास र उपभोग गर्नसके देश र सामाजिक क्षेत्रले धेरै लाभहरू लिनसक्ने सम्भावना छ । लघु जलविद्युत् आयोजना स–साना हुने भएकाले यस्ता आयोजनाहरूमा स्थानीय समुदायले समेत सहभागिता गर्न सक्दछ । आयोजना विकास गर्न स्थानीय समुदायलाई आर्थिक तथा प्राविधिक सहजीकरण भने आवश्यक पर्दछ । प्रत्यक्ष आर्थिक लाभका हिसाबले साना जलविद्युत् विकासमा व्यवसायीहरूको लगानी, प्राथमिकता र प्रभाव परेको देखिँदैन । ठूला आयोजनाको प्रत्यक्ष आर्थिक लाभ ठूलो होला, तर त्यसका अन्य असरहरू पनि त्यतिकै रहन्छन् । जबकि, लघु जलविद्युतबाट नकारात्मक असरहरू हुँदैनन् । स्वदेशको विद्युत् बजारको माग पूरा गर्ने, विदेश निर्यात गर्ने, रोयल्टी धेरै आउने जस्ता प्रत्यक्ष र तत्कालको लाभमा राज्य रमाइरहेको अवस्था छ । ठूलाको आफ्नै महत्व र आवश्यकता छ । तर साना जलविद्युत्को आर्थिक, वातावरणीय र सामाजिक लाभ ठूलाको तुलनामा दीर्घकालसम्म अझै उच्च छ ।

ठूला आयोजनाले विद्युत्को माग धान्ने र ठूलो आर्थिक प्रतिफल दियो भनेर नेपालमा रहेका साना तथा लघु जलविद्युत् आयोजना विकाशमा ध्यान नदिनु ठिक होइन । निजीक्षेत्रले व्यापारिक लाभका लागि लगानी गर्छ, उसका लागि फाइदा पहिलो धेय हुन्छ । ठूला र मेघा आयोजनाले देशको आवश्यकता पूरा गर्न पनि सहयोग गर्छ भन्ने कुरा विधितै छ । त्यसो भन्दैमा लघु तथा साना जलविद्युत्को महत्व र औचित्यलाई कम आँकलन गर्नु उचित होइन ।

नेपालको भौगोलिक बनावट, सामाजिक अवस्था र आर्थिक सन्दर्भमा ठूला जलविद्युत्को विकासका साथै नेपालले साना जलविद्युत्को विकासमा पनि ध्यन पुर्याउन आवश्यक छ । ग्रामीण अर्थतन्त्र र ग्रामीण क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन गर्न ग्रामीण क्षेत्रमा लघु जलविद्युत् उत्पादन उद्यम नै भरपर्दो उपाय हो । लामा दूरीमा रहेका विद्युत् प्रणालीलाई सन्तुलित राख्न होस् वा भोल्टेज सन्तुलनका लागि समेत लघु जलविद्युत् आयोजना ठूलो सहयोगी हुन सक्दछ ।

नेपालमा प्रचलित विद्युत् विकास पद्धति धनीलाई अझै धनी र गरिबलाई केबल उपभोक्ता मात्र बनाउने रहेको छ । यसबाट नेपालको जलविद्युत केही सय मानिसको उद्योग र व्यापार बनिरहेको भए पनि बहुसङ्ख्यक नेपाली जलविद्युत् उद्यमबाट विमुख रहँदै आएका छन् । सबै नेपालीले ठूला जलविद्युत्को मालिक बन्ने र लगानी गर्ने सम्भावना पनि न्यून हुँदैछ । उद्यम बिनालगानी मालिक हुने कुरै भएन । ग्रामीण र दुर्गम क्षेत्रमा रहेका स–साना पानीका स्रोतलाई उपयोग गरेर विकेन्द्रित रूपमा विद्युत् उत्पादन गर्न सकिन्छ । यसबाट साना लगानीकर्ताको पूँजी निर्माण गर्न पनि योगदान गर्दछ ।

नेपालका सानातिना खोलानालमा छरपष्ट रहेका जलस्रोतको विकेन्द्रीत रूपमा उपयोग गरी बिजुली उत्पादन गरिनु पर्छ । जसबाट ग्रामीण, आर्थिक तथा सामाजिक कृयाकलापहरूको विकास हुन्छ र रोजगारीको उचित प्रवद्र्धन हुन्छ । यस्तो पद्धतिमा गाउँ गाउँमा स–साना विद्युत् उत्पादन गर्न र तिनमा लगानी पनि ग्रामीण नागरिकबाट गराउने व्यवस्था गर्न सकिन्छ । साना आयोजना निर्माण गर्न आवश्यक हुने सानो पूँजी ग्रामीण क्षेत्रबाट परिचालित हुन सक्छ । स्थानीय बासिन्दाहरूबाट इक्विटी व्यवस्था गराउने र उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने व्यवस्था भए धेरै लघु जलविद्युत् उद्यमहरूको विकास हुन सक्छ ।

नेपालको ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकास र पर्यावरण संरक्षणमा समेत जलविद्युत् विकासको प्रभाव पर्ने हुन्छ । पर्यावरण बचाउन र प्रकृतिक स्रोतबाट मानव समुदायले दिगो लाभ प्रप्त गर्न पनि स–साना खोलानालामा रहेको जलसम्पदाको दिगो उपयोग उचित र आवश्यक हुन्छ । स्थानीय समुदायको दिगो ऊर्जामा पहुँच, विद्युत्को उत्पादनमूलक उपयोग र आर्थिक समृद्धि तथा ग्रामीण रोजगारीको पनि सम्भावना त्यतिकै छ । यस किसिमको पद्धति अवलम्बन गर्दा गाउँगाउँमा ऊर्जा उद्योग सुरु हुन्छ । गाँउका मानिस पनि लगानी गर्न अभ्यस्त हुन्छन् र गाउँका मानिससम्म लगानीको अवसर पुग्छ । ग्रामीण क्षेत्रमा पूँजी निर्माण हुन्छ, जुन उद्यमशीलताको पहिलो खुड्किलो हो ।

ग्रामीण समुदायका मानिस लगानी कर्ता र ऊर्जा उद्यमी हुन्छन् । उनीहरूका लागि नियमित आयस्रोत बन्छ । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुन्छ । गाउँमा नवीकरणीय ऊर्जा उद्योग चल्छ, मानिसमा उद्यमशीलताको क्षमता बढ्न जान्छ । जलवायु परिवर्तनको चपेटामा परेको समाजमा सफा ऊर्जाले ठूलो राहत पुर्याउँछ । सरकारले सन् २०४५ सम्ममा नेट जिरो (०) मा पुग्ने भनेर विश्व समुदायसँग गरेको बाचा पूरा गर्न प्रत्यक्ष सहयोग पुर्याउँछ । शहरको पैसा गाउँ पुग्ने वातावरण तयार हुन्छ । पूँजी निर्माणले अरु क्षेत्रमा लगानी र व्यवसायीकरण हुँदै जानेछ । यसबाट हाम्रा गाउँगाउँमा देखिएको बसाईसराईलाई समेत न्यूनीकरणमा मद्धत पुग्नेछ ।

अब गाउँका लागि लघु जलविद्युत् अस्थाइ वा तत्कालीन समाधान र सेवा मात्र हो भन्ने अवधारणाबाट मुक्त भएर ग्रामीण क्षेत्रको ऊर्जा उद्यमशीलतामा रूपान्तरित हुनु पर्दछ । सबैभन्दा पहिला नीति निर्माताहरूको सोचमा परिवर्तन आवश्यक छ । राज्यले आवश्यक नीति, योजना र कानुन निर्माण गरे गाउँगाउँमा ऊर्जा उद्योगको थालनी गर्न सकिन्छ । ग्रामीण नेपालमा राम्रो सम्भावना भएको एक मात्र उद्योग नवीकरणीय ऊर्जा उद्योग हो ।

लघु जलविद्युत् उत्पादन उद्योगका हिसाबले सानो भए पनि ५० किलोवाट क्षमताको लघु जलविद्युत्मा हुने लगानी हाम्रो अर्थतन्त्रको आकार र दाँजोमा सानो होइन । नेपाली औद्योगिक व्यवसाय र लगानीका हिसाबले करोडको उद्योग सानो होइन । यसको इक्विटी परिचालन गर्न ग्रामीण समुदायले पनि सक्छ । ठूला र मेघा उद्योगमा लगानी लगाउन ग्रामीण नागरिकको क्षमता हुँदैन ।

सानाबाटै गाउँगाउँमा सीप र क्षमता बढ्न थाल्दछ र मानिसमा विस्तारै थप उद्यमशीलताका लागि पूँजी र क्षमता दुबै तयार हुन्छ । यसबाट दीर्घकालमा ग्रामीण क्षेत्रमै लगानीकर्ता, व्यवसाय र व्यावसायीक उत्पादन हुन सक्दछ । यसका लागि लघु जलविद्युत्बारे राज्यको सोच, नीति, कानुन र संस्थागत व्यवस्था बदलिनु आवश्यक हुन्छ । तीनतहका सरकारहरूले आ–आफ्नो कानुनी व्यवस्था र संयन्त्रहरू तयार गरी ग्रामीण समुदायलाई विकेन्द्रिकित रूपमा लघु जलविद्युत् उद्यमी बन्न सहयोग र सहजीकरण गर्न सकेमा ग्रामीण विकासले फड्को मार्न सक्ने छ ।

याे लेख ऊर्जा संचार वार्षिक जर्नल २०८२ बाट साभार गरिएकाे हाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img