काठमाडौँ । अप्पर मोदी-क्यास्केड अन्तर्गतका दुई जलविद्युत् आयोजनामध्ये ४२ मेगावाटको माथिल्लाे मोदी ‘ए’ क्यास्केड आयोजनाको लट-१ को ठेक्का चिनियाँ कम्पनी सिचुआन सुइटान कन्स्ट्रक्सन कम्पनी र नेपालको हाइ हिमालय कम्पनीको संयुक्त उपक्रम (जेभी) कम्पनीले पाएको छ ।
माेदी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाको निर्माण प्याकेज मध्ये लट–१ अन्तर्गत सिभिल र मेकानिकाल निर्माणको ठेक्का २ अर्ब ४ करोड रुपैयाँमा दिइएको हो ।
अप्पर मोदी ‘ए’ ४२ मेगावाट र मोदी ‘ए’ १८.२ (मेगावाट) को विस्तृत डिजाइन २०७४ सालमा स्वीटजरल्यान्डको परामर्शदाता कम्पनी एएफ कन्सल्टले तयार पारेको थियो । त्यस मध्ये ४२ मेगावाटको आयोजना अघि बढाउन ठेक्का लागेको हो । याे कास्की र पर्वतको सीमा भएर बग्ने मोदी खोलामा निर्माण हुने आयोजना हाे ।
सुरुमा दुवै आयोजनाको हेडवर्क्स अलग–अलग निर्माण गर्ने योजना थियो । तर, अप्पर मोदी ‘ए’ बाट निस्केको पानीलाई सिधै मोदी ‘ए’ मा पठाउन सकिने देखिएपछि एउटै हेर्डवक्स निर्माण गर्ने गरी नयाँ डिजाइन तयार पारिएको थियो ।