काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लोड कटौटी हुने सूचना जारी गरेपछि केही दिनयता नेपालमा फेरि लोडसेडिङ सुरु भएको चर्चाले व्यापकता पाएको छ । उद्योगीहरूले पनि आफुले दैनिक ७/८ घण्टा लोडसेडिङ खेप्नु परिरहेको बताउँदै आएका छन् ।
अर्कोतर्फ आम नागरीकहरू पनि यो हिउँदमा लोडसेडिङ हुने पो होकी भन्ने चिन्ताले ग्रस्त देखिन्छन् । १८ घण्टे लोडसेडिङ भोगेको आम नागरीक भन्छन् ‘यसै त बिहान बेलुका खाना पकाउने बेला बत्ती जान्छ, अब पहिलेको जस्तै लोडसेडिङ भयो भने के गर्ने ? प्राधिकरणले नै सूचना जारी गरेर केही समयका लागि आपूर्ति बन्द हुने भनेपछि उनीहरू चिन्तित भएका छन् ।
प्राधिकरणलाई हरेक वर्षको हिउँदको समयमा ‘पिक आवर’ मा विद्युत् आपूर्ति व्यवस्थापन गर्न समस्या हुन्छ । नेपालको विद्युत् जडित क्षमता ३४०३ मेगावाट पुगे पनि अधिकांश आयोजना नदी प्रवाहमा आधारीत भएकोले हिउँदयाममा उत्पादनमा कमी आउँछ जसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या हुने गरेको छ । हिउँद लागेसँगै हाल प्रणालीमा करिब १३०० मेगावाट मात्रै विद्युत् उपलब्ध छ । पिक समयमा करिब १८०० देखि २००० मेगावाटको हाराहारीमा लोड रहेको छ ।
नेपालले हिउँदमा छिमेकी राष्ट्र भारतबाट विद्युत् आयात गरेर माग धान्ने गरेको थियो । यो वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी र केही मात्रामा भारतबाट विद्युत् आयात गरेर आन्तरिक माग धान्ने प्राधिकरणको योजना थियो । तर, असोज ११ र १२ गते आएको बाढी पहिरोले आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि उत्पादन प्रभावित हुँदा समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
हिउँदको समयमा माथिल्लो तामाकोसी ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्थ्यो । अहिले यो विद्युत् केन्द्रको मर्मत संभार चलिरहेको छ । यो केन्द्रबाट पुस १० गतेभित्रै करिब ५० प्रतिशत क्षमतामा उत्पादन सुचारु गर्ने अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले बताए । उनका अनुसार भोलीदेखि नै उत्पादन थाल्नका लागि अन्तिम चरणको काम भइरहेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत संभारको काम अन्तिम चरणमा पुगेको छ ।
यसैगरी, १४४ मेगावाटको कालीगण्डकीको पनि एउटा युनिटको मर्मत संभार भइरहेको छ । कालीगण्डकी ‘ए’ को ३ नम्बर युनिटको जेनेरेटेरमा समस्या आएपछि यसको मर्मत संभार भइरहेको छ । आगामी एक साता अर्थात पुस १५ गतेभित्र यो युनिट सञ्चालनमा आउने केन्द्रका प्रमुख बाबुराजा महर्जनले बताए ।
माथिल्लो तामाकोसी र कालीगण्डकीको उत्पादन बन्द हुँदा पोहोरभन्दा यसवर्ष चाँडै विद्युत् आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । यसैगरी, बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ ।
आयोजनाहरूको उत्पादन प्रभावित भएकोले पिक आवरमा औद्योगिक क्षेत्रमा आपूर्ति बन्द गर्नुपरेको पनि उनले जानकारी दिए । उनले प्राविधिक कारणले औद्योगिक क्षेत्रमा केही घण्टाका लागि आपूर्ति रोकिएको बताएका छन् । ‘पिक समयमा उद्योगको लाइन केही समयका लागि काटिएको छ । त्यो समयमा नागरीकलाई सहज बनाएका छौ’ उनले भने ।
अर्कोतर्फ उद्योगीहरूले भने प्रेस विज्ञप्ति नै जारी गरेर प्राधिकरणले विद्युत् कटौती गरेसँगै उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको जानकारी दिएका छन् । विरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक ४ घण्टा विद्युत् कटौती हुँदा ठूलो समस्या खेप्नुपरेको जानकारी दिएको छ । यसैगरी, पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरू मर्कामा परेको बताएका छन् ।
उद्योगीहरूले विद्युत् कटौतीको समयमा डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएको बताएका छन् ।