काठमाडाैँ । गोरखाको पालुडटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका हुँदै बग्ने मर्स्याङदी नदीमा निर्माण अघि बढेकाे ९० मेगावाटको मर्स्याङदी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनामा आंशिक लगानी जुटेको छ । आयाेजनामा कुमारी बैंकको नेतृत्वमा ३ वटा बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरि सम्झौता सम्पन्न भएको हो ।
आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र सिदार्थ बैंक लिमिटेडको संयुक्त लगानी हुने गरी ऋण सम्भौता भएको हो । अन्य बैंक तथा वित्तिय संस्थाहरूले पनि लगानी गर्ने गरी छिट्टै सम्झौता हुने एम प्रवर्द्धक एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य बताए ।
आयोजना निर्माण अवधिको व्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुंजी लगानी हुने जनाइएको छ।
प्रवर्द्वक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैंक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्दार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैंक लिमिटेडले १.५ अर्ब रूपैयाँ लगानी गर्नेछन् । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिवावु न्यौपाने र दिपक बरालको हुनेछ । यही समुहबाट २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० कार्तिक १ मा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । २०८६ वैशाख २२ मा व्यवसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इजानियरिड डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन स्वीकृतीका लागी वातावरण मन्त्रालयमा पेस भएको छ । आयोजनाबाट उत्पादित विद्युत् गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब-स्टेशनमा मा जोडिने छ।