काठमाडौँ । रसुवामा निर्माणाधीन २२६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजना निर्माणको काम ५६ प्रतिशत पूरा भएको छ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले २०७८ सालमा निर्माण सुरु गरेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो ।
आयोजनाको भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँध लगायतका संरचना निर्माणको काम तिव्र गतिमा अघि बढेको कम्पनीले जानकारी दिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत रहेको छ ।
कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवा आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध लगायत संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह लगायत संरचना निर्माणाधीन छन् ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडेलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले काम गरिरहेको छ । आयोजनाको प्रवद्र्धक कम्पनीमा कोरियाली सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी (इक्विटी) छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद र ६१.२५ प्रतिशत वर्षामा उत्पादन हुनेछ ।
उत्पादित ऊर्जा विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत् अत्यधिक माग हुने हिउँदमा समेत १ सय ४ मेगावाट प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजना निर्माण मंसिर २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।