काठमाडौँ । सरकारको बास्केटमा साढे ४ हजार मेगावाटका जलविद्युत् आयोजना रहेका छन् । ऊर्जा उद्यमीले जिम्मा लिएर काम नगरेका, कुनै पनि उद्यमीले काम गर्न नचाहेका तथा काम नभएका जलविद्युत् आयोजना सरकारी बास्केटमा राखिएकाे छ ।
विद्युत् विकास विभागअनुसार सरकारी बास्केटमा ४ हजार ४१९ मेगावाटका १७९ जलविद्युत् आयोजना रहेका छन् । यी सबै आयोजना सरकारले लाइसेन्स खारेज गरेर राखेका आयोजना हुन्
सरकारको बास्केटमा अधिकांश आयोजना कम क्षमताका रहेका छन् । बास्केटमा रहेका सबैभन्दा ठूलो आयोजना ९७८ मेगावाटको सुनकोसी–२ जलविद्युत् आयोजना रहेको छ । सिन्धुली, रामेछाप र काभ्रेपलान्चोक जिल्लामा पहिचान भएको यो आयोजना आदिवासी र अन्य स्थानीयको पुख्र्यौली, भेषभुषा, परम्परा अस्तित्व मासिने भन्दै स्थानीयले खारेजको माग गरेका थिए । यो आयोजनाको वातावारणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन समेत तयार पारिसकेको थियो ।
३०० मेगावाटको भेरी ४ जलविद्युत् आयोजनाको पनि लाइसेन्स खारेज भएको छ । सरकारको बास्केटमा रहेको अर्को आयोजना हो भेरी ३ जलाशयुक्त आयोजना । सो आयोजनाको क्षमता ४८० मेगावाट रहेको छ । सो आयोजनाको आयोजना स्स्थल जाजरकोटमा रहेको छ ।
मुस्ताङमा अघि बढेको ४०० मेगावाटको काली गण्डकी कोवान जलविद्युत्को पनि लाइसेन्स खारेज भएको छ । विभागले यो आयोजनाको लाइसेन्स २०७६ कात्तिक २० गते नै खारेज गरेको हो ।
बास्केटमा रहेका अन्य आयोजना भने कम क्षमताका रहेका छन् ।