पर्वत जिल्लाकाे कुश्मा नगरपालिकाले ५० लाख रुपैयाँ विद्युत महसुल बक्याैता बुझाएकाे छ । नेपाल विद्युत प्राधिकरणले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएकाे नगरपालिकाले लाइन काटेपछि सडक बत्ती प्रयाेग वापतकाे महसुल बुझाएकाे हाे ।
प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो । नगरपालिकाले बक्यौतामध्ये ५० लाख रुपैयाँ भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युतकाे लाइन काटिएको हो । हालसम्मको २४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको लेखाप्रमुख शर्माले जानकारी दिए ।
सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले ७४ लाख रुपैयाँ बढी भुक्तानी दिन बाँकी थियो । नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।