काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
योजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्री बायोङ सु मिनले असार २ गते सोमबारका दिन गाउँकार्यपालिकाको कार्यालय बडा नं ५ खाल्टेबगरमा आयोजित कार्यक्रमकाबीच एम्बुलेक्सको चाबी गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् ।
उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त एआयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा कार्यक्रममा कम्पनीका सिइओ बायोङ सु मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर उपलब्ध गराइएको बताए । आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावितहरू हुने भएकाले सोही विषयलाई केन्द्रमा राखी प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम सञ्चालित रहेको उल्लेख गर्दै उनले एम्बुलेन्सबाट दुर्गम क्षेत्रका बिरामीहरूलाई समयमा स्वास्थ्य सेवासम्म पुर्याउन एउटा कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय गरिदिन गाउँपालिका तथा स्थानीय बासिन्दाहरूलाई अनुरोध गरे ।
गाउँपालिकाका अध्यक्ष अर्यालले एम्बुलेन्सबाट बिकट एवम् दुर्गम भेगका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन सहयोग पुग्ने बताए । उनले आयोजनाले सञ्चालन गर्न कार्यक्रमहरु आयोजना प्रभावित क्षेत्रका पालिकाहरुसँग समन्वय गरी सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरु, गाउँकार्यपालिकाका सदस्यहरु, स्वास्थ्य केन्द्र प्रमुख, आदिवासी जनजाति परिषद्का पदाधिकारीहरु,स्थानीय बासिन्दालगायतको सहभागिता थियो ।
नेपाल सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स आयातमा लाग्ने राजश्व नेपाल सरकारबाट छुट प्राप्त भएको छ । राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ छ ।
आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । सिएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहात वितरण,जीविकोपार्जन तथा आयआर्जनबृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।