काठमाडाैँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदी प्रवाहमा आधारित विद्युत् आयाेजनाकाे विद्युत खरिद सम्झाैता (पीपीए) गर्दा ‘टेक एण्ड पे’काे प्रावधान बमाेजिम गरिने गरी गरिएकाे व्यवस्था संशाेधन हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको राजनीतिक संयन्त्रले बजेट संसदमा प्रस्तुत भएको बजेट संशाेधन हुने भएकाे हाे ।
आगामी आर्थिक वर्षको बजेटको २२७ नम्बर बुँदामा ‘विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ । रन अफ रिभर आयोजनाको टेक एण्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ’ भन्ने उल्लेख छ ।
याे व्यवस्थाबमाेजिम पीपीए गर्दा ऊर्जा क्षेत्र नै ध्वस्त हुने भन्दै निजी क्षेत्रले विराेध गर्दै आएका थिए । ऊर्जा क्षेत्रमा गरेकाे लगानी डुब्ने भन्दै यो प्रावधानले ऊर्जा क्षेत्र अगाडि बढ्नुको सट्टा झन पछाडि धकेलिने, यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबै उद्यमीलाई प्रभावित गर्ने हुँदा अविलम्ब फिर्ता गर्न माग गरेका थिए ।
यो विषयमा संशोधनको प्रस्ताव तयार गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई जिम्मा दिएको जनाइएकाे छ । रन अफ रिभर आयोजनाको पीपीए टेक एन्ड पेका आधारमा मात्रै गरिने भन्ने व्यवस्था बजेटमा परेपछि त्यसले नेपालको ऊर्जा क्षेत्र नै धरासायी हुने भन्दै निजी ऊर्जा उत्पादकहरुले आन्दोलनको घोषणा गरेका छन् ।