काठमाडौँ । नेपालमा हालसम्म ६ हजार ८०० सर्किट किलोमिटर प्रसारण लाइन र साढे १३ हजार एम.भी.ए क्षमताका सबस्टेसन सञ्चालनमा रहेका छन् । विभिन्न भोल्टजस्तरका लाइन र सबस्टेसन सञ्चालन छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार ६ हजार ८०० सर्किट किलोमिटर लाइन र १३ हजार ७५४ एम.भी.ए क्षमताका सबस्टेसन आयोजनाहरू सञ्चालनमा छन् । जसमध्ये गत आर्थिक वर्षमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन र ७०० एम.भी.ए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएको हो ।
हालसम्म ३ हजार १७४ सर्किट किलोमिटर बराबरका १४४ प्रसारण लाइन आयोजनाहरूका लागि सर्वेक्षण अनुमति र ५ हजार ७०६ सर्किट किलोमिटर बराबरको २७१ प्रसारण लाइन आयोजनाहरूका लागि प्रसारण अनुमति जारी भएका छन् ।
जसमध्ये गत आर्थिक वर्ष अर्थात एक वर्षको अवधिमा १०३१ सर्किट किलोमिटर बराबरका ६० प्रसारण लाइन आयोजनाले सर्वेक्षण अनुमति, २७८ सर्किट किलोमिटर बराबरका २६ प्रसारण लाइन आयोजनाले निर्माण अनुमति पाएको जनाइएको छ ।
पछिल्लो समय सरकार तथा नेपाल विद्युत् प्राधिकरण प्रसारण लाइन निर्माण, सबस्टेसन तथा विद्युतीय संरचना निर्माणमा द्रुत गतिमा अघि बढेको छ ।
अहिले भइरहेका संरचनाको स्तरोन्नति गर्ने र आवश्यक ठाउँमा नयाँ निर्माण गर्ने प्रक्रियालाई अघि बढाएको छ । पर्याप्त विद्युत् भएपनि बारम्बार ट्रिपिङ हुने, विद्युतीय संरचनामा समस्या आउने लगायत कारणहरू दोहोरिरहेकोले पनि प्राधिकरणले यो कदम अघि बढाएको हो ।
विद्युत् उत्पादन बढेपनि विद्युतीय संरचनाहरू गुणस्तरीय र दीर्घकालीन नभएकोले सरकार संरचना निर्माणमा व्यापक रूपमा लागि परेको छ ।








