काठमाडौँ । ऊर्जा र वातावरणको लागि महिला सञ्चाल, नेपाल (ओनी)ले महिलाहरूलाई विद्युतीय चुलो मर्मत संभार तालिम प्रदान गरेर उनीहरूलाई आत्मनिर्भर बनाएको छ ।
सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत विद्युतीय चुलोलाई प्रवर्द्धन गरिरहँदा ओनीले भने यसकाे मर्मत संभारकाे पक्षमा काम गरिरहेकाे हाे । पछिल्लो समय नेपालको विद्युत् उत्पादन बढ्दै गएसँगै यसको आन्तरिक खपत बढाउनु चुनौति रूपमा अघि आएको छ ।
आन्तरिक खपत बढाउन सरकारले विद्युतीय चुलो र विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन विभिन्न योजना ल्याइरहेकाे छ । विद्युतीय चुलो र सवारी दुवै नेपालका लागि नयाँ पक्ष हुन् । यसतर्फ आमनागरिकको चासो बढ्दै गएसँगै आयात पनि बढ्दै गएको छ । तर, मर्मत संभारको पाटो भने पछि परिरहेको देखिन्छ ।
चुलो बिग्रीयो भने के गर्ने ? कता गएर बनाउने ? बिग्रेको सामान कताबाट ल्याउने ? भन्ने लगायतका कुराहरूले गृहणीहरूले सहजै विद्युतीय चुलोलाई आत्मसाथ गर्न हिच्कीच्याइरहेको बेला ओनीले महिलाहरूलाई नै विद्युतीय चुलो तथा विद्युतीय उपकरणको मर्मत संभार तालिम दिएर उनीहरूमा आत्मविश्वास बढाएको छ ।
भान्सामा काम गर्ने महिलाहरूको स्वास्थ्यमा सुधार गर्दै जलवायु परिवर्तनको असर न्यूनिकरणमा सरकारले राखेको लक्ष्य पूरा गर्न ओनीले विद्युतीय चुलो मर्मत सम्बन्धी तालिम प्रदान गर्दै आएको ओनीका अध्यक्ष कला तिमिल्सीनाले बताईन् ।
ओनीले हालसम्म विद्युतीय चुलो प्रयोग सम्बन्धी प्रशिक्षण तालिम ७८ र भान्सामा प्रयोग हुने विद्युतीय उपकरण सम्बन्धी प्रशिक्षण तालिम ७८ जनालाई प्रदान गरिसकेको छ ।
तालिम प्रदान गरेको केहीले आफ्नो सीपलाई व्यवसायिक रूपमा नै अपनाएर अघि बढेका छन् । उनीहरूले मर्मत संभार केन्द्र नै खोलेर विद्युतीय चुलो तथा उपकरणहरूको मर्मत सेवा दिँदै आएका छन् । जसमध्ये एक हुन्ः नम्रता तामाङ । उनको स्थायी घर ललितपुरको कोन्ज्योसोस गाउँपालिका हो । उनले ओनीबाटै तालिम लिएर अहिले यसलाई व्यवसायीक रूपमा अघि बढाएकी छिन् । उनले चुलो मर्मतसँगै, विद्युतीय जग, मल्टिप्लक लगायतका विद्युतीय उपकरणको समेत मर्मत गर्छिन् । यही पेशाबाट आफ्नो घरव्यवहार चलाउँदै आएको उनी बताउँछिन् ।
यसैगरी, अर्की छिन् लालीमाया लामा । उनको घर काप्रेपलाञ्चोकको तेमालगाउँपालिकामा पर्दछ । तेमाल विद्युतीय सामुदायिक संस्थाले समुदायकै पहलमा ग्यास सिलिण्डर विस्थापित गर्न विद्युतीय चुलो वितरण गरेको थियो । यसैको लागि चुलो मर्मत गर्ने ठाउँपनि हुनुपर्छ भन्ने भएपछि उनले तालिम लिएको बताईन् । उनले त्यस क्षेत्रमा बिग्रेको चुलोहरू मर्मत गर्दै आएकी छिन् ।
सहरदेखि गाउँसम्म आयातित ग्यास प्रतिस्थापन गर्ने उद्देश्यले विद्युतीय चुलोको उपयोग बढ्दै गइरहेकोमा बिग्रीएमा मर्मतको समस्या थियो । सञ्जालले दिएको प्रशिक्षणमा सिकेको भरमा विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरणको मर्मत गर्न सक्षम भएको लामाको अनुभव छ ।
सरकारले सर्वप्रथम मिश्रित ऊर्जाको अवधारणा अनुसार २०७२ सालमा विद्युत खपत बढाउन विद्युतीय चुलोको प्रवर्द्धन गरेको थियो । अहिले आन्तरिक विद्युत खपत बढाउन तथा आयातित ग्यास प्रतिस्थापन गर्ने उत्तम विकल्प विद्युतीय चुलो भएको हुँदा यसको उपयोग गर्न सरकारले आग्रह गर्दै आएको छ ।








