Monday, January 19, 2026
spot_img

संखुवासभाको पर्यटकीय तथा ऊर्जा पूर्वाधारमा तीव्र लगानी हुन्छः मन्त्री खड्का

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए ।

गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै ३ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए । उनले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्ने बताए ।

यस्तै, मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवा बेसी सडक खण्ड कालोपत्रे गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले यो वर्षभित्रै काम सम्पन्न गर्न व्यक्तिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाए ।

ऊर्जा पूर्वाधारको सन्दर्भमा उनले सिलीचोङ गाउँपालिका भित्रै ५ देखि ७ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको जानकारी गराउँदै ती आयोजनाबाट रोजगारी, आर्थिक विकास र स्थानीय पूर्वाधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

“संखुवासभा केवल मेरो जन्मभूमि होइन, यसको समग्र विकासको जिम्मेवारी पनि मेरो काँधमा छ,” मन्त्री खड्काले भने । साथै, उनले सिलीचोङलाई सोलुखुम्बुसँग जोड्ने वैकल्पिक नाका बनाउने सम्भावनाबारे पनि धारणा राखे, जसले पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

बुधवारेमा स्थायी प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको र मकालु वरुण राष्ट्रिय निकुञ्जभित्र विकास कार्य गर्दा देखिने प्राविधिक ढिलाइलाई कम गर्दै व्यवस्थित सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको मन्त्री खड्काले जानकारी दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img