काठमाडाैँ । फेदी खोला हाइड्राे पावर कम्पनी प्रालिले निर्माण गरिरहेको ४.३ मेगावाटको फेदीखोला थुमलुङ जलविद्युत् आयोजनाको सिभिल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । ३.५२ मेगावाटमा निर्माण गरिनेगरी अघि बढेको आयोजनाको क्षमताको विस्तार गरी ४.३ मेगावाट पुर्याइएको हो ।
आयोजनाको क्षमता विस्तार भएपछि २०७९ पुस १७ गते ग्रिड कनेक्सन र २०८० असोज २ गते विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भएको थियो । पीपीए अनुसार यस ३.५२० मेगावाट आयोजनाको विद्युत खरीद दर सुख्खायाम (मंसीर १६ गतेदेखि जेष्ठ १५ गतेसम्म) ६ महीना प्रतियूनिट ८.४० र वर्षायाममा (जेष्ठ १६ गतेदेखि मंसीर १५ गतेसम्म ) ६ महीना प्रतियूनिट ४.८० रुपैयाँ रहेको छ भने थप ७८० किलोवाटको विद्युत खरीद दर सुख्खायाम (पौष देखि चैत सम्म) ४ महीना प्रतियूनिट ८.४० र वर्षा याममा ( बैसाखदेखि मंसीरसम्म ) ८ महीना प्रतियूनिट ४.८० रुपैयाँ रहेको छ ।
यस आयोजनाबाट वार्षिक २ करोड ४४ लाख ७८ हजार ८ सय ६२ युनिट विद्युत शक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पीपीए अनुसार २०८१ चेत्र २९ गते विद्युत उत्पादन तालिका रहेपनि २०८० श्रावण १३ गते आएको बाढीको कारणले आयोजनाको उत्पादन तालिका प्रभावित भएको छ । अहिले कम्पनीले २०८२ माघसम्म कायम गर्नको लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन गरि प्रकृयामा रहेको छ ।
यो जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्न कुल ९४ करोड लाग्ने अनुमान गरिएकोमा बाढीको कारणले ४ करोड लागत वृद्धी भई ९८ करोड लाग्ने अनुमान गरिएको छ । जसमध्ये ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात ५० करोड राष्टिय बाणिज्य बैक लिमिटेडबाट ऋण स्वरुप जुटाईएको छ ।
१७ करोड ५० लाखको सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै
कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० कराड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।








