काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताउँदै देशी तथा विदेशी लगानीकर्तालाई त्यसमा सहभागिता जनाउन आह्वान गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्ताे आह्वान गरेका हुन् ।
मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताए । ‘इलेक्ट्रिक पावरको एग्जिबेसन भइरहेको छ, अहिलेको प्रविधि र सम्भावनामा यो केन्द्रित छ । नेपालमा जलविद्युतको अपार सम्भावना छ’ उनले भने, ‘उत्पादन पनि भइरहेको छ । हामीले छिमेकी मुलुकमा निर्यात गर्न सक्छौँ ।’
नेपालले विद्युत छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताए । नेपाल आफ्नो उत्पादनलाई वृद्धि गर्न र गुणस्तरमा प्रतिष्पर्धा गर्न तयार रहेको उनको भनाइ थियो ।
उनले हाल देशमा विद्युतीय सामग्रीको प्रयोग तीव्र गतिमा बढिरहेको बताउँदै यस्तो प्रवृत्तिलाई थप प्रोत्साहन दिनु आवश्यक रहेको धारणा राखे ।








