काठमाडाैँ । कोशी र लुम्बिनी प्रदेश सरकारले उद्योगहरू बन्दले राेजगारी खाेसिएकाे प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइन मार्फत विद्युत प्रयाेग गरेवापतकाे महशुल बक्याैता उद्याेगीले नबुझाएपछि लाइन काटेकाे थियाे । साे प्रति चिन्ता व्यक्त गरेका छन् ।
कोशीका मुख्मयन्त्री हिक्मतकुमार कार्की र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र (उद्योग, कलकारखाना) बन्द हुने अवस्था आउनु अस्भाभाविक र चिन्ताको विषय भएको बताएका छन् ।
‘विद्युत आपूर्ति बन्द गरिएको कारणले कोशी प्रदेशका केही उद्योग बन्द भई अर्थतन्त्रमा मात्र नभई स्थानीय रोजगारीमा समेत असर परेको छ,’ कोशीका मुख्मयन्त्री कार्कीद्वारा जारी विज्ञप्तीमा छ । ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा निजी उद्योग, सुपर मार्केट, कलकारखाना तथा संचार क्षेत्रसमेत आगजनी तथा तोडफोड भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुने परिस्थिति निर्माण भयो,’ उनले भनेका छन्, ‘बक्यौता विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बन्द हुने अवस्था आउनु अस्वाभाविक हो ।’ ‘एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्नसक्ने बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नु पर्दछ,’ उनले भनेका छन् ।
त्यसैगरी लुम्बिनीका मुख्यमन्त्री आचार्यले उद्योगहरूको विद्युत् आपूर्ति बन्दका कारण प्रदेशका विभिन्न उद्योगहरू बन्द भएको, सयौं श्रमिकहरू रोजगारीविहीन भएका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पारेको बताएका छन् । ‘संवाद, सहकार्य र आपसी समझदारीकै माध्यमबाट यस्तो संवेदनशील विषयको समाधान सम्भव छ,’ उनले भनेका छन्, ‘उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्षहरू जिम्मेवार र संवेदनशिल बन्नु आवश्यक छ ।’








