काठमाडाैँ । डेढ महिनादेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि पुनः सुचारु भएको छ । कर्मचारी आन्दोलन स्थगित भएपछि बोर्डका सबै सेवा, सेयर निष्कासन अनुमति देखि नियामक निकायका नियमित प्रक्रिया पुनः अघि बढेका छन् ।
बोर्डका कर्मचारीहरूले आन्दोलन ‘पूर्णरूपमा अन्त्य नभएको’ स्पष्ट पारेका छन् । उनीहरूले सरकारले दिएको आश्वासन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मूल्यांकनका लागि एक साताको ‘मोनिटरिङ अवधि’ सुरु भएको बताएका छन् ।
अर्थ मन्त्रालयले पठाएको विवादास्पद पत्र सच्याउने र सेवा–सुविधा पुनः सुनिश्चित गर्ने सहमति भएपछि आन्दोलन ‘शंकाको आधारमा’ रोकिएको जनाइएकाे छ । गत आइतबार अर्थ मन्त्रालय र कर्मचारी प्रतिनिधिबीच भएको छलफलपछि कानुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने सहमति भएको थियो । उक्त समितिले मन्त्रालयको पत्र र बोर्डका कर्मचारी नियमावलीबीचको कानुनी द्वन्द्व अध्ययन गरी सिफारिस तयार पार्नेछ ।
आन्दोलनका कारण अड्किएको करिब ६० अर्ब रुपैयाँभन्दा बढीको सेयर निर्गम प्रक्रिया पुनः गतिमा आउने अपेक्षा गरिएको छ । हाल बोर्डमा ७४ कम्पनीका साधारण, हकप्रद र एफपीओ गरी करिब ६० अर्ब रुपैयाँ बराबरका सेयर प्रस्ताव स्वीकृतिको प्रतीक्षामा छन् ।








