काठमाडाैँ । सोलु हाइड्रोपावर कम्पनीले आगामी मंसिर ७ गतेदेखि आफ्नो प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) सुरु गर्न लागेको छ। पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । यस समूहमा सेयर वितरण भएपछि मात्र आम सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ खुल्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबर २ करोड कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसमध्ये १ करोड कित्ता आयोजना प्रभावित स्थानीय र १० लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ । दुवै समूहले न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयका लागि आवेदन मंसिर २१ गतेसम्म खुला रहनेछ र आवश्यकता अनुसार पुस ७ गतेसम्म अवधि बढाइनेछ । वैदेशिक रोजगारमा रहेका नेपालीले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् र आवश्यक परे मंसिर २१ गतेसम्म समय थपिनेछ । प्रभावितले ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा र तल्लो सोलु जलविद्युत् आयोजनाको कार्यालयमार्फत फारम बुझाउन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरी व्यावसायिक उत्पादनमा ल्याइसकेको छ । रन–अफ–रिभर प्रकृतिको यो आयोजनाको कुल लागत ब्याजसहित १६ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ र जगेडा कोष १ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीले लगानी फिर्ता हुने समय ६.७८ वर्ष रहने अनुमान गरेको छ।
सोलु हाइड्रोपावरले इक्रा नेपालबाट BB+ क्रेडिट रेटिङ प्राप्त गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ। विद्युत् उत्पादन बहाल रहने अवधि वि.सं. २१०६ चैत ४ सम्म रहेको छ। कम्पनीका प्रमुख संस्थापक सेयरधनीमा गोविन्दलाल सांघाईसहित सांघाई र अग्रवाल परिवारका सदस्यहरू रहेका छन् ।








