काठमाडाैँ । विद्युत् उत्पादन कम्पनी लिमिटेड (VUCL) र एनइए इन्जिनियरिङ कम्पनी (NEAEC) बीच डुल्लु मालिका सौर्य विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ) अध्ययनका लागि सम्झौता भएको छ ।
३० मेगावाट क्षमताको उक्त सौर्य विद्युत् आयोजना तथा यससँग सम्बन्धित १३२ केभी प्रसारण लाइनको डीपीआर र आईइइ अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्ने जिम्मेवारी एनइएइसीलाई दिइएको हो । यो सम्झौता गुणस्तर तथा लागतमा आधारित छनोट (QCBS) प्रक्रियामार्फत गरिएको हो ।
सम्झौताअनुसार एनईएईसीले आयोजनाको प्राविधिक डिजाइन, लागत अनुमान, कार्यान्वयन योजना, वित्तीय विश्लेषण तथा वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन गर्नेछ । आईइइ अध्ययनमार्फत सम्भावित वातावरणीय असरहरूको पहिचान गर्दै न्यूनीकरणका उपायहरू समेत सिफारिस गरिनेछ ।
डुल्लु–मालिका सौर्य विद्युत् आयोजना नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा दिगो विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । डीपीआर तथा आईइइ अध्ययन सम्पन्न भएसँगै आयोजना कार्यान्वयनतर्फ अघि बढ्ने छ ।








