काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको मुख्य लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाहरूका लागि विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।
प्राधिकरणअन्तर्गतको व्यवसाय विकास निर्देशनालय, विद्युत व्यापार विभागले सूचना जारी गर्दै इच्छुक प्रवर्द्धक कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । प्राधिकरण सञ्चालक समितिको १०१५औँ बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ भित्र पिपिए सम्पन्न गर्ने गरी आवेदन माग गरिएको छ ।
यस कार्यक्रमअन्तर्गत सौर्य आयोजनामा स्थानीय तहको कम्तीमा ५१ प्रतिशत शेयर स्वामित्व अनिवार्य गरिएको छ । साथै, आयोजनाको जडित क्षमता अधिकतम १ मेगावाटसम्म हुनुपर्नेछ ।
विद्युत् खरिद दर विद्युत् नियमन आयोगको निर्णयअनुसार प्रतियुनिट ४.९९ रुपैयाँ कायम गरिएको छ । उक्त दरमा कुनै पनि प्रकारको वार्षिक मूल्यवृद्धि नहुने पनि प्राधिकरणले जनाएको छ ।
प्राविधिक पक्षलाई सहज बनाउन प्राधिकरणले ३३/११ केभी ग्रिड वा वितरण सवस्टेसनमार्फत सिधै जडानको व्यवस्था समेत गरेको छ । साथै, प्रवर्द्धकको मागअनुसार आवश्यक सुरक्षा प्रबन्धसहित ११ केभी वितरण लाइनमा ‘टी–कनेक्सन’ सुविधा पनि उपलब्ध गराइने प्राधिकरणले जानकारी दिएको छ । यी आयोजनाहरूका लागि ग्रिड इम्प्याक्ट स्टडी बिना नै ग्रिड कनेक्सन सम्झौता गर्न सकिने व्यवस्था गरिएको छ ।
इच्छुक कम्पनीहरूले २०८३ वैशाख २८ गतेभित्र आवश्यक कागजातसहित विद्युत् व्यापार विभागमा निवेदन दिनुपर्नेछ । आवेदनसँगै कम्पनी दर्ता प्रमाणपत्र, ५१ प्रतिशत शेयर स्वामित्व पुष्टि हुने कागजात, सम्भाव्यता अध्ययन प्रतिवेदन, जग्गा भोगाधिकारसम्बन्धी प्रमाण र उत्पादन अनुमतिपत्र लगायतका विवरण पेश गर्नुपर्नेछ ।








