काठमाडौँ । मुलुकको कुल ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकबाट उत्पादित विद्युत्का आधारमा उक्त क्षमता कायम भएको हो ।
परीक्षण चरणमा रहेका आयोजना तथा वैकल्पिक स्रोतबाट उत्पादित ऊर्जा भने यसमा समावेश गरिएको छैन । मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ । हाल करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने थप तीन हजार मेगावाट बराबरका आयोजना निर्माणको तयारीमा रहेका छन् ।
ऊर्जा पूर्वाधार विस्तारतर्फ पनि उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै १४ हजार ३२३ एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएका छन् । यस्तै, ३३ केभी क्षमताका करिब ८ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३०८ एमभिए क्षमताका सबस्टेसन निर्माण भइसकेका छन् ।
सरकारको पहल, ऊर्जा मन्त्रालयको सक्रियता तथा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण विद्युत् चुहावट घटेर १२.५ प्रतिशतमा सीमित भएको मन्त्रालयले जनाएको छ । सबस्टेसन क्षमता विस्तार, प्रसारण लाइन स्तरोन्नति र प्राविधिक सुधारमार्फत चुहावट अझै घटाउँदै लैजाने लक्ष्य राखिएको छ ।
यसैबीच प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ । राष्ट्रिय विद्युत् प्रणाली तथा वैकल्पिक ऊर्जाको माध्यमबाट देशको ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको मन्त्रालयको दाबी छ ।
विद्युत् व्यापारतर्फ हालसम्म २ हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ भने करिब ५९० गिगावाट घण्टा विद्युत् आयात गरिएको छ ।
नवीकरणीय ऊर्जातर्फ सौर्य विद्युत् उत्पादन क्षमता ६२.७ मेगावाट पुगेको छ भने लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ ।
सिँचाइ क्षेत्रतर्फ हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । त्यसमध्ये पाँच लाख ३२ हजार ९० हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।








