काठमाडौँ । युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडको १२औँ वार्षिक साधारणसभाले ७.३६८४२ प्रतिशत लाभांश पारित गर्दै कम्पनीलाई होल्डिङ कम्पनीका रूपमा विकास गर्ने रणनीतिक प्रस्ताव अनुमोदन गरेको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष नवीन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सभाबाट सञ्चालक समितिको सदस्यमा रेणुका पाण्डे र प्राप्ति अधिकारी निर्वाचित भएका छन् । साथै, कम्पनीको जारी पुँजी वृद्धि गर्ने, हकप्रद सेयर निष्कासन गर्ने तथा अन्य कम्पनीहरूमा लगानी विस्तार गर्न आवश्यक प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।

कम्पनीले भविष्यमा ऊर्जा क्षेत्रसँगै अन्य सम्भावित लगानीयोग्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने संकेत दिएको छ । यसका लागि नियामक निकायहरूसँग आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ ।
सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

सभामा बोल्ने सेयरधनीहरूले कम्पनीले निरन्तर लाभांश वितरण गरेकोमा खुशी व्यक्त गर्दै आगामी वर्षहरूमा पनि प्रतिफललाई निरन्तरता दिन व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए ।
कम्पनीले पर्वतको कुश्मा नगरपालिका–८ मा रहेको १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जुन २०६९ मंसिर ९ गतेदेखि व्यावसायिक उत्पादनमा रहेको छ ।








