काठमाडाैँ । राष्ट्रिय महत्वको ‘हेटौंडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण लाइन’ अन्तर्गत लामो समयदेखि रोकिएको हेटौंडा–ढल्केवर खण्डको निर्माण कार्य पुनः तीव्र गतिमा अघि बढेको छ । मुआब्जा र जग्गा विवादका कारण वर्षौंदेखि प्रभावित आयोजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि पुनः सक्रिय बनेको हो ।
ऊर्जा मन्त्रालयका अनुसार प्रभावित स्थानीय, जनप्रतिनिधि र सरोकारवालासँग गरिएको निरन्तर समन्वयपछि जग्गाधनीहरूले मुआब्जा स्वीकार गर्न थालेका छन् । त्यसपछि नेपाल विद्युत प्राधिकरणले रोकिएका क्षेत्रमा पुनः टावर निर्माण अघि बढाएको जनाएको छ ।
सन् २०१२ देखि निर्माण सुरु भएको यो प्रसारण लाइनअन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना लामो समयसम्म प्रभावित बनेको थियो । कुल २८८ किलोमिटर लम्बाइको आयोजनामध्ये १५४ किलोमिटर लामो ढल्केवर–इनरुवा खण्ड तीन वर्षअघि नै सञ्चालनमा आइसकेको भए पनि १३४ किलोमिटर लामो हेटौंडा–ढल्केवर खण्ड भने मुआब्जा विवादका कारण ढिलिएको थियो ।
प्राधिकरणका अनुसार हेटौंडा क्षेत्रमा निर्माण गर्नुपर्ने १४ वटा टावरमध्ये ३ वटाको निर्माण सम्पन्न भइसकेको छ भने २ वटाको इरेक्सन कार्य जारी छ । सबै टावरको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको र बाँकी संरचनात्मक काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले टावर निर्माणसँगै मुआब्जा तथा क्षतिपूर्ति वितरण प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको बताए । उनका अनुसार कानुनअनुसार प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराइनेछ भने स्ट्रिङ्गिङ कार्य सुरु भएपछि पहिचान भएका सबैलाई एकैपटक मुआब्जा वितरण गरिनेछ ।
उनले चालु आर्थिक वर्षभित्र प्रसारण लाइन सञ्चालनमा नआए वर्षायाममा उत्पादन हुने करिब ८०० मेगावाट विद्युत प्रवाह हुन नसकी खेर जाने जोखिम रहेको चेतावनी दिए । यसले राष्ट्रलाई अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति पुग्न सक्ने उनको भनाइ छ।
प्राधिकरणले वन क्षेत्रको रुख कटान तथा जग्गा प्रयोगसम्बन्धी बाँकी स्वीकृति प्राप्त हुनेबित्तिकै बाँकी दुई टावर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना सम्पन्न भएपछि देशको आन्तरिक विद्युत आपूर्ति थप सुदृढ हुनुका साथै राष्ट्रिय ग्रिडको विश्वसनीयता बढ्ने र छिमेकी मुलुकसँग विद्युत व्यापार विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।








