काठमाडाैँ । सानिगाड हाइड्रो लिमिटेडले आज (सोमबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्काशन गरेकाे हाे ।
कम्पनीले ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरेको थियो । साथै, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारी र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
अब सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्काशन गरिएको कम्पनीले जनाएको छ । उक्त शेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री छिटोमा जेठ २१ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरे ढिलोमा असार १ गतेसम्म खुला रहनेछ ।
सानिगाड हाइड्रोले दार्चुलामा ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मि सनराइज क्यापिटल लिमिटेड रहेकाे छ ।








