काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोन लामाले आफ्नो चुनावी प्यानल घोषणा गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा लामाले विभिन्न पदका उम्मेदवारहरू सार्वजनिक गर्दै ‘इप्पान भिजन २०२९’ समेत प्रस्तुत गरेका हुन् ।
लामाले सक्षम, उत्तरदायी र परिणाममुखी नेतृत्वमार्फत इप्पानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै पीपीए सुधार, नीतिगत तथा कानुनी सुधार, प्रसारण पूर्वाधार विस्तार, ऊर्जा व्यापार, वन तथा वातावरणीय प्रक्रियामा सरलीकरण र इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् ।
उनले “हामी विरोध होइन–समाधान दिन्छौं”, “हामी नारा होइन–संरचना बनाउँछौं” र “हामी व्यक्तिगत होइन–संस्थागत नेतृत्व गर्छौं” भन्ने नारासहित इप्पानलाई परिणाम दिने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
इप्पानको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी जेठ २९ गते हुँदैछ ।








