Monday, June 15, 2026
spot_img

कोहलपुर–सुर्खेत लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरीका कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि २०८३ जेठ ३१ गते अपराह्नदेखि उक्त १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन अवरुद्ध भएको अवधिमा कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत आपूर्ति व्यवस्थापन गरिएको थियो ।

प्राधिकरणका अनुसार १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिम लगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध हुने भएकाले सो क्षेत्रका साथै बाँके र बर्दिया जिल्लाको विद्युत सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img