काठमाडाैँ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेसँगै यसको प्रमुख भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । परीक्षण सफल भएमा आयोजना छिट्टै विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीस्थित बाँध, ६.२७ किलोमिटर लामो मुख्य सुरुङ तथा दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण प्रक्रिया अघि बढाइएको हो ।
रघुगङ्गा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार शुक्रबार डिसेन्डरमा पानी हालेर परीक्षण सुरु गरिएको छ भने आइतबारदेखि मुख्य सुरुङमा पानी भरिनेछ । “निर्माण सम्पन्न भएका संरचना तथा विद्युत्गृहमा जडान गरिएका उपकरणहरूको परीक्षण सफल भएपछि आयोजना विद्युत् उत्पादनका लागि तयार हुनेछ,” उनले बताए ।
आयोजनाको तिल्केनीचौरस्थित विद्युत्गृह निर्माण सम्पन्न भइसकेको छ । हाल अन्तिम चरणको रङरोगन भइरहेको छ । २० मेगावाट क्षमताको एउटा युनिट जडान सम्पन्न भइसकेको छ भने अर्को युनिटका उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ। यसका लागि आवश्यक चार वटा टावर तथा प्रसारण लाइन निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।
राहुघाट आयोजना निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा सिभिल निर्माण सम्झौता गरिएको थियो । ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कोरोना महामारी, बाढीपहिरो, निर्माण सामग्री अभावलगायत कारण प्रभावित बनेपछि पटक–पटक म्याद थप्नुपरेको थियो । हाल चौथो पटक थपिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ ।
इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार अमेरिकी डलरभन्दा बढी रकममा सम्झौता गरिएको थियो । आयोजना भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ ।
आर्थिक समस्याका कारण २०७२ सालमा पुरानो ठेकेदारसँगको सम्झौता अन्त्य भएपछि नयाँ प्रक्रियामार्फत आयोजना अघि बढाइएको थियो। हालको ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण र २०७६ असारमा मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो ।
वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको राहुघाट आयोजनाले २०७५ चैतमै विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेको छ । आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा स्वदेशी स्वच्छ ऊर्जाको आपूर्ति थप मजबुत हुने अपेक्षा गरिएको छ ।








