काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई आयोजनाको प्रगति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालयको विद्युत् व्यापार विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निर्माणसँग सम्बन्धित प्रगति विवरण, निर्माण सम्पन्न हुने अनुमानित समय र परियोजनाको वर्तमान अवस्थाबारे अद्यावधिक जानकारी उपलब्ध गराउन आग्रह गरेको हो ।
सूचनामा पिपिए सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका सबै आयोजनाका प्रवर्द्धक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्राधिकरणमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र प्रगति विवरण पेश नगरेमा पीपीए सम्झौताअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्ने, निर्माण प्रगतिमा देखिएका समस्या पहिचान गर्ने तथा विद्युत् उत्पादनको सम्भावित समयरेखा स्पष्ट पार्ने उद्देश्यले प्राधिकरणले यस्तो सूचना जारी गरेको बुझिएको छ ।








