Thursday, July 2, 2026
spot_img

ऊर्जा र अनुभूति

spot_img

Share

spot_img

ऊर्जाको विकास आर्थिक विकासको मात्र नभएर खुसीको पनि सुचकाङ्क हो भन्ने कुरा विश्व खुसी सुचकाङ्कले देखाएको छ । ऊर्जाको पहुँच पर्याप्त हुने देश विश्व खुसी सुचकाङ्क (वल्र्ड ह्यापिनेस इन्डेक्स) मा समेत माथि रहेको पाइन्छ । ऊर्जा पहुँचले स्वास्थ्य, शिक्षा, आय, स्वतन्त्रता र सामाजिक सम्बन्धमा सुधार ल्याउँछ, जसले खुसी सूचकाङ्क बढाउँछ ।

बेलायती अर्थशास्त्री इ.एफ. सुम्याकरले आफ्नो पुस्तक ‘स्मल इज् ब्युटिफुलः अ स्टडी अफ इकोनोमी एज् इफ पिपुल म्याटर’ मा ऊर्जा विकासमा बौद्ध अर्थशास्त्र (बुद्धिष्ट इकोनोमी) को उपयोगिताको परिकल्पना गरेका छन् ।

आनी छोइङ्गको गीतले भनेजस्तो “मेरो पैतालाले किरै नमरुन् !” अर्थात् वातावरणमा असर नपुर्याइकन साना रैथाने प्रविधि र सीपमा आधारित विकास गर्ने तथा आवश्यकता भन्दाबढी सञ्चित नगर्ने बुद्धिष्ट इकोनोमीका विशेषता हुन् ।

आधुनिक अर्थशास्त्र ‘चाहनाको विस्तार’ मा आधारित छ, भने बौद्ध अर्थशास्त्र ‘चाहनाको सन्तुलन’ मा । बौद्ध अर्थतन्त्र अर्थशास्त्रलाई केवल नाफा–हानि, उत्पादन र उपभोगमा मात्र सीमित नगरी मानव जीवनको आध्यात्मिक, नैतिक र दार्शनिक पक्षसँग पनि जोडेर बुझाउने दृष्टिकोण हो । यो मुख्यतया गौतम बुद्धको अष्टाङ्ग मार्गमध्येको एक सम्यक् आजिविका वा जीविकोपार्जन (राइट लाइभ्लीहुड) मा आधारित छ ।

विश्वव्यापी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न विकास वा आर्थिक वृद्धिलाई पनि सिमित गर्नुपर्छ अर्थात् ‘डिग्रोथ’मा जानुपर्छ भन्ने पनि तर्क छ । टोकियो विश्वविद्यालयका प्राध्यापक काहेइ साइतोको विचारमा आर्थिक वृद्धि र पर्यावरणमा सुधार दुवै एकैपटक सम्भव छैन । उनी भन्छन्, “हाम्रो समस्या नै के भयो भने हामी आर्थिक वृद्धि पनि चाहन्छौँ र पर्यावरण राम्रो भएको पनि देख्न चाहन्छौँ ।” उनको यो धारणा बौद्ध अर्थशास्त्रसँग मेल खाने देखिन्छ ।

ऊर्जाले कसरी मानिसको अनुभूति, समाज र अर्थतन्त्रलाई रूपान्तरण गरेको छ भन्ने कुरालाई ‘इनर्जी एण्ड एक्सपेरियन्स्ः एन् एस्से इन् न्याफ्थोलोजी’मा फिनिश दार्शनिकद्वय एण्टी सल्मानेन् र तेरे भाडेन्ले वर्णन गरेका छन् । ऊर्जा केवल उत्पादनको साधन वा शक्ति मात्र नभई मानिसको चेतना, समयबोध र मूल्य निर्माण गर्ने शक्ति पनि हो भन्ने कुरालाई पुस्तकमा सविस्तार व्याख्या गरिएको छ । लेखकद्वयको दृष्टिमा तेल र जीवाश्म ऊर्जामा आधारित आधुनिक सभ्यताले हाम्रो सोच्ने, महशुस गर्ने र बाँच्ने तरिकालाई समेत प्रभावित गरेको छ । ऊर्जा मानव अनुभवको भौतिक मात्र होइन, अस्तित्वगत र सांस्कृतिक आयाम पनि हो, जसले आधुनिक चेतनाको स्वरूप नै निर्माण गरेको छ । सन् २०१५ मा प्रकाशित यो पुस्तकलाई आधुनिक समाज, ऊर्जा र दर्शनबीचको सम्बन्धलाई दार्शनिक रूपमा बुझ्ने माध्यमको रूपमा लिइन्छ ।

ऊर्जा, श्रम र मूल्यका व्याख्याता अमेरिकी अर्थशास्त्री जर्ज काफेन्ट्जिसको ऊर्जा र श्रमबीचको आर्थिक सम्बन्धको सट्टा साल्मानेन् र भाडेन्ले ऊर्जा र अनुभवबीचको दार्शनिक सम्बन्धमा जोड दिएर चेतना र अस्तित्वको माध्यमको रूपमा ऊर्जालाई व्याख्या गरेका छन् । त्यसैगरी, काफेन्टिजसले ऊर्जालाई पूँजी र मूल्यको स्रोतको रूपमा व्याख्या गरेका छन् । साल्मानेन र भाडेनले चाहिँ भौतिक अर्थमा ऊर्जा भनेको शक्ति वा कार्य गर्ने क्षमता हो भनेका छन् ।

यो मेकानिकल, इलेक्ट्रिकल, तापीय, रासायनिक, आणविक आदि स्वरूपमा पाइन्छ । अध्यात्मिक अर्थमा मानिसभित्रको जीवनशक्ति, प्रेरणा, उत्साह वा मानसिक सामर्थ्यलाई ऊर्जा भनिन्छ । ऊर्जा बाह्यपक्ष (जस्तैः विद्युत, ताप) मात्र होइन, आन्तरिकपक्ष (उत्साह, प्रेरणा) पनि हो ।

ऊर्जा अविनाशिताको सिद्धान्त (ल अफ कन्जरभेसन अफ इनर्जी) अनुसार ऊर्जा न त, सिर्जना गर्न सकिन्छ, न नष्ट गर्न नै सकिन्छ; यो त केवल एक रूपबाट अर्को रूपमा रूपान्तरण मात्र हुन्छ । यसको अर्थ कुनै बन्द प्रणालीमा (जहाँ बाह्य ऊर्जा प्रवेश वा निष्काशन हुँदैन) कूल ऊर्जा स्थिर रहन्छ । उदाहरणका लागि, ढुङ्गा माथिबाट तल झर्दा स्थिर ऊर्जा (पोटेन्सियल इनर्जी) गति ऊर्जा (काइनेटिक इनर्जी) मा परिणत हुन्छ । विद्युत् मोटरमा विद्युत् ऊर्जा यान्त्रिक ऊर्जामा बदलिन्छ । बल्बमा विद्युत् ऊर्जा प्रकाश र तापीय ऊर्जामा बदलिन्छ । यो सिद्धान्त भौतिकशास्त्र, रसायनशास्त्र, इन्जिनियरिङ, ऊर्जा विज्ञान लगायत सबै क्षेत्रमा आधारभूत सिद्धान्तको रूपमा लागु भएको पाइन्छ ।

उपनिषदमा पाइने सृष्टि विज्ञानका मन्त्रहरूले पनि ऊर्जा अविनाशितालाई आत्मसात् गरेको छ । “ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।” अर्थात्, निराकार ब्रह्म (ऊर्जा) पूर्ण छ, साकार ब्रह्म (जगत, प्रकृति) पनि पूर्ण छ । पूर्ण निराकार ब्रह्मबाट पूर्ण साकार ब्रह्म प्रकट भएको छ । पूर्ण ब्रह्मबाट पूर्णता लिएर जगत बन्दछ । तैपनि, ब्रह्म जस्ताको त्यस्तै पूर्ण नै बाँकी रहन्छ । अर्थात् पूर्णबाट पूर्ण जोड्दा वा घटाउँदा पनि पूर्ण नै बाँकी रहन्छ । यस मन्त्रले ऊर्जा (ब्रह्म, परम सत्य) को अनन्तता, अखण्डता र नाशरहित गुणलाई दर्शाउँछ ।

ब्रह्माण्डलाई मूलभूत रूपमा तीन आयाममा बुझ्न सकिन्छ–चेतना, ऊर्जा र भौतिकता । यी तीनै तत्वहरू आपसमा अन्तरसम्बन्धित छन्, जुन आध्यात्मिक दर्शनदेखि आधुनिक भौतिक विज्ञानसम्मले प्रमाणित र विश्लेषण गरेको छ । पूर्वीय दर्शन, विशेष गरी उपनिषद् र भागवत गीताले चेतनालाई ब्रह्म–सर्वशक्तिमान् ऊर्जासँग अन्तर्निहित रूपमा जोड्छन् । ॐ ध्वनिलाई ब्रह्माण्डीय कम्पनको प्रतीक तथा चेतना र ऊर्जा बीचको सेतु मानिन्छ । ब्रह्माण्ड जस्तै मानव शरीर पनि पृथ्वी, जल, तेज, वायु, आकाश पञ्चतत्व मिलेर बनेको हुन्छ । ब्रह्माण्डलाई सन्तुलनमा राख्ने यी पाँच वटा तत्वहरूबाट नै हामीलाई भौतिक एवम् अध्यात्मिक ऊर्जा प्राप्त भइरहेको पाइन्छ ।

हामीले प्रयोग गर्ने नवीकरणीय ऊर्जा पञ्चतत्वबाटै प्राप्त हुन्छ । यो प्रकृतिसँग सामञ्जस्यमा रहँदै भौतिक जीवनलाई सहज बनाउने ऊर्जा हो । नवीकरणीय ऊर्जाले पृथ्वी र समाजलाई दिगो बनाउन मद्दत गर्छ भने अध्यात्मिक ऊर्जाले मन र आत्मालाई दिगो (सन्तुलित र शान्त) बनाउन मद्दत गर्दछ । नवीकरणीय ऊर्जाले पृथ्वीलाई जोगाउँछ भने अध्यात्मिक ऊर्जाले आत्मालाई जोगाउँछ, दुवै मिलेर मात्र जीवन र जगत दिगो तथा सन्तुलित बन्छ ।

भौतिक जगतमा ‘ऊर्जाको विद्युतीय तरङ्ग’ भन्नाले साधारणतया विद्युत चुम्बकीय तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक वेभ) लाई बुझाउँछ । यो त्यस्तो तरङ्ग हो जसमा विद्युत् क्षेत्र (इलेक्ट्रिक फिल्ड) र चुम्बकीय क्षेत्र (म्याग्नेटिक फिल्ड) परस्पर एकअर्कासँग परपेन्डिकुलर दिशामा कम्पन गर्छन् । तरङ्गका प्रकारहरू ‘वेभ लेन्थ’ र आवृत्ति अनुसार फरक फरक हुन्छन् । जस्तैः सञ्चारका लागि प्रयोग गरिने रेडियो तरङ्ग, राडार, वायरलेस नेटवर्कमा प्रयोग गरिने माइक्रोवेभ, रिमोट कन्ट्रोलको इन्फ्रारेड, सूर्यबाट आउने ‘अल्ट्राभायोलेट रे’, स्वास्थ्य परीक्षणका लागि प्रयोग हुने ‘एक्सरे’, हाइ इनर्जी न्युक्लियर रियाक्सनबाट निस्कने ‘गामा रे’ आदि ।

ऊर्जाको विद्युतीय तरङ्गले विद्युत्चुम्बकीय तरङ्गहरू जनाएजस्तै शरीरभित्रको सन्दर्भमा यसले ब्रेन वेभलाई जनाउँछ । शरीर (विशेषगरी मस्तिष्क) भित्र पाइने विद्युतीय तरङ्गलाई ब्रेन वेभ भनिन्छ । स्नायु–कोशिका (न्यूरोन) हरूको गतिविधिबाट उत्पन्न हुने यस्ता तरङ्गहरू मुख्यतया चार प्रकारका हुन्छन् । पहिलो, ‘अल्फा तरङ्ग’को फ्रिक्वेन्सी आठ देखि १३ हर्जसम्म हुन्छ । ध्यान गर्दा, आँखा बन्द गरेर आराम गर्दा मष्तिष्कमा अल्फा तरङ्ग क्रियाशील हुन्छ । यस तरङ्गले मनलाई शान्त बनाउँछ, सृजनशीलता र ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँछ । दोस्रो, ‘बिटा तरङ्ग’को फ्रिक्वेन्सी १३ देखि ३० हर्जसम्म हुन्छ । मानिस जाग्रत भएर सक्रिय सोच, समस्या समाधान, निर्णय लिने अवस्था वा तनावमा हुँदा यो तरङ्ग क्रियाशील हुन्छ । यस तरङ्गले तर्क गर्ने क्षमता, ध्यान र सक्रिय मानसिक अवस्था नियन्त्रित गर्न सहयोग पुर्याउँछ । तेस्रो, ‘थिटा तरङ्ग’को फ्रिक्वेन्सी चारदेखि सातहर्जसम्म हुन्छ । हल्का निद्रा, गहिरो ध्यान, कल्पना वा सपनाको अवस्थामा यो तरङ्ग क्रियाशील हुन्छ । यस तरङ्गले अवचेतन मनसँग सम्बन्धित, सिर्जनशीलता र स्मृति विकासमा भूमिका खेल्दछ । चौथो, ‘डेल्टा तरङ्ग’को फ्रिक्वेन्सीः ०.५ देखि चारहर्जसम्म हुन्छ । गहिरो निद्राको अवस्थामा यो तरङ्ग क्रियाशील हुन्छ । यस तरङ्गले शरीर पूनःऊर्जावान् बनाउने, उपचार/हिलिङ् प्रक्रियामा सहयोग पुर्याउँछ । यसको अतिरिक्त, पाचौं तरङ्गको रूपमा ‘गामा तरङ्ग’ पनि हुने बताइन्छ । यसको फ्रिक्वेन्सी ३० हर्जभन्दा माथि ४० हर्जसम्म हुन्छ । उच्चस्तरको मानसिक गतिविधि, सिकाइ, स्मरणशक्तिको अवस्थामा यो तरङ्ग क्रियाशील हुन्छ । यो तरङ्ग चेतनाको उच्च स्तर हो । जुन अध्ययन र बुझाइमा सहयोगी हुन्छ ।

वेदमा ऊर्जा (शक्ति) को व्याख्या प्रत्यक्ष ऊर्जा भन्ने आधुनिक शब्दमा नभएर ‘प्राण’, ‘शक्ति’, ‘तेज’, ‘ओज’, ‘तपस्’, र ‘आत्मा’ जस्ता धारणामार्फत् गरिएको पाइन्छ । यी सबैलाई ऊर्जा (सूक्ष्म वा स्थूल रूप) को अभिव्यक्ति मान्न सकिन्छ । वेद र उपनिषद् अनुसार ‘प्राण’ नै सबै जीवको जीवन चलाउने मूल ऊर्जा हो । ऋग्वेदमा प्राणलाई ‘सर्वव्यापी शक्ति’ मानिएको छ, जसले शरीरलाई जीवित राख्छ । प्राणका पञ्च रूपहरू (प्राण, अपान, समान, उदान, व्यान) ले शरीरभित्रको सबै गतिविधि नियन्त्रण गर्छन् ।

दुर्गा सप्तशती (चण्डी) मा देवीलाई शक्तिको रूपमा व्याख्या गरिएको छः “या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ।” अर्थात् जुन देवी सबै प्राणीमा शक्ति रूपले स्थित छिन्, उनलाई नमस्कार छ, नमस्कार छ, नमस्कार छ ।

मानव शरीरमा सातवटा प्रमुख ऊर्जा केन्द्र (चक्र) को उल्लेख योगशास्त्र, उपनिषद् र तन्त्र परम्परामा गरिएको छ । यी केन्द्रहरूलाई ‘चक्र’ भनिन्छ र तिनीहरू प्राणशक्तिको प्रवाह गर्ने मुख्य द्वार हुन् । ती चक्रहरू मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्धि चक्र, आज्ञा चक्र र सहस्रार चक्र हुन् । यिनले क्रमशः शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्राणिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, बौद्धिक स्वास्थ्य, आत्मिक स्वास्थ्य र परम स्वास्थ्य प्रत्याभूति दिन्छन् । जीवन विज्ञानले पनि चक्र विज्ञानको साधनालाई विशेष महत्व दिँदै आएको छ ।

भौतिक र अध्यात्मिक ऊर्जा दुवै एउटै ‘अस्तित्व’ को फरक अभिव्यक्ति हुन् । विज्ञानले पदार्थ–ऊर्जाको एकता देखाउँछ भने अध्यात्मले चेतना–ऊर्जाको एकता देखाउँछ । भौतिक रूपमा हरेक कण कम्पनमा चल्छन् । अध्यात्मले पनि मानव चेतना, विचार, र भावना कम्पनमा चल्छन् भनेको छ । त्यसैले ध्यान/प्रार्थनाले शरीरमा तरङ्ग (ब्रेन वेभः अल्फा, बीटा, थीटा, डेल्टा) परिवर्तन गर्छ । जसरी भौतिक ऊर्जा एक रूपबाट अर्कोमा बदलिन्छ, अध्यात्ममा पनि नकारात्मक विचार/भावनालाई सकारात्मक चेतनामा रूपान्तरण गर्न सकिन्छ ।

भौतिक ऊर्जा शरीर र बाह्य प्रकृतिमा प्रकट हुन्छ भने अध्यात्मिक ऊर्जा चेतना, अनुभव, शान्ति र अन्तरात्मामा प्रकट हुन्छ । तर दुवैको आधार एउटै सार्वभौमिक ऊर्जा हो । विज्ञानले त्यसलाई सूत्र र प्रयोगशालाबाट बुझ्छ भने अध्यात्मले ध्यान र अनुभूतिबाट । भौतिक ऊर्जाले शरीरलाई चलाउँछ/संसारलाई उज्यालो बनाउँछ, अध्यात्मिक ऊर्जाले आत्मालाई उज्यालो बनाउँछ; तर दुवै मिलेर जीवनको सम्पूर्णता बनाउँछन् । केवल भौतिक ऊर्जा मात्र भए मान्छे भौतिक रूपमा सफल तर मानसिक रूपमा असन्तुलित वा असन्तुष्ट हुन सक्छ । त्यस्तै, अध्यात्मिक ऊर्जा मात्र भए दैनिक जीवनका आवश्यक भौतिक जिम्मेवारी पूरा गर्न कठिन हुन सक्छ । त्यसैले भौतिक ऊर्जा जीवन चलाउन र अध्यात्मिक ऊर्जा जीवनलाई अर्थ दिन आवश्यक हुन्छ ।

क्वान्टम सिद्धान्त भौतिकशास्त्रको एउटा आधारभूत सिद्धान्त हो, जसले सूक्ष्म कणहरू (जस्तै इलेक्ट्रोन, फोटोन, एटम) को व्यवहारलाई वर्णन गर्छ । यो पारम्परिक भौतिकशास्त्र (क्लासिकल मेकानिक्स) भन्दा धेरै भिन्न छ । यसले अनौठा नियमहरू अनुसरण गर्छ । यसले ऊर्जा निरन्तर (कन्टिन्युअस) होइन, साना र निश्चित इकाइहरू (क्वान्टा) मा मात्र उत्सर्जन हुन्छ भन्ने तथ्यलाई मनन गर्छ ।

वेभ पार्टिकल द्वैधता अर्थात् सूक्ष्म कणहरूले कहिले कणको जस्तो र कहिले तरङ्गको व्यवहार प्रदर्शन गर्दछन् । न्युरो साइन्टिष्ट डा. कमल ढकालको विचारमा क्वान्टम मेकानिक्स वेदान्त दर्शन बुद्धिष्ट दर्शनसँग सम्बन्धित छ । आजको विश्वमा विज्ञान–प्रविधिको प्रचुर विकास हुनुमा क्वान्टम मेकानिक्सकै योगदान रहेको छ । लेजर, बत्तीको लेड, डिसप्ले आदि क्वान्टम मेकानिक्सकै देन हुन् । अबको युग क्वान्टम मेकानिक्सको युग हो । यसले ब्रह्म सत्य, जगत् मिथ्यालाई आत्मसात् गर्छ । साहित्यकार घनश्याम खड्काको पुस्तक ‘निर्वाण’ मा ब्रह्म सत्य, जगत् मिथ्यालाई अझ प्रष्ट रूपमा व्याख्या गरिएको छ । खड्का अध्यात्मिक गुरु गोविन्दको वाणीलाई यसरी साभार गर्छन्: “उपकरणहरूमा मात्र भेद छ, विद्युतमा भेद छैन । विद्युतको कुनै विभाजन सम्भव छैन । एउटै विद्युत् प्रवाहले हिटर पनि चल्छ, फ्रिज पनि चल्छ । संसार भ्रान्तिपूर्ण छ, हामी जे देख्छौं, कुराहरू त्यस्ता छैनन् । जस्तो; घरलाई हेर्नुस्, हामी जसलाई घर भन्छौं, त्यो वास्तवमा कहाँं छ ? गहिरिएर खोज्यो भने त्यहाँ त इँट्टा, बालुवा, काठ, फलाम र अरू यस्तै सामाग्रीको जोडजाड मात्र छ । घर भन्ने कुनै तत्व नै छैन । त्यो त सामाग्रीहरूले दिएको एक आकार मात्र हो । तर पनि भन्छौं, घर छ । यो नै एक भ्रान्ति हो । घर बनाउने इट्टा र बालुवा त छ नि, भन्नुहोला ! खोज्दै गए इँट्टा पनि छैन, बालुवा पनि छैन । परमाणुहरू खाँदिएर आकार जस्तो देखिने चीज मात्र बनेका हुन् यी । खोज्दै गए त्यहाँ केही पनि भेटिँदैन । शरीर पनि त्यस्तै हो । यो छैन, कोशिकाहरूको जोडले मात्रै यो देखिएको हो । कोशिकाहरू खोज्यो भने ती पनि छैनन्, खाली अणुहरू जोडिएका मात्र छन् । अणुहरू पनि टुक्र्याउँदै जाँदा शून्य मात्र फेला पर्छ । यो सत्यको साक्षात्कार नै मोक्ष हो, निर्वाण हो । बुद्धले यो उहिल्यै बुझे । विज्ञानले बाहिरी अर्थमा भर्खर बुझ्दैछ । क्वान्टम फिजिक्स त्यही बुझाइको नाम हो । खाली यो ऊर्जाको सघनताले देखिएको मात्र हो । ऊर्जा भन्नु अरु केही होइन चेतना नै हो । त्यसैले मोटो रूपमा हामीलाई जगतलाई जड र चेतन गरेर छुट्याउँछौं । तर गहिरिंदै जाँदा जड पनि छैन, मात्र चेतन नै चेतन छ । जड जस्तो देखिन्छ मात्रै, तर यो वास्तवमै छैन ।”

पिटर हिग्सको गड पार्टिकलदेखि स्टेफेन हकिन्स, डाल्टन एटमिक थ्योरी, दार्शनिक कणादको वेशेषिक दर्शन अनि हाल आएर कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेनस्स) क्वान्टम मेकानिक्सकै देन भएको डा. ढकालको तर्क छ । तसर्थ विज्ञान र प्रविधिमा रमाइरहँदा त्यसको दर्शन पक्षलाई पनि आत्मसात गर्नुपर्ने दृष्टान्त दिँदै एक अन्तर्वार्तामा डा. ढकाल भन्छन्, “दर्शनले सबै द्विविधालाई अन्त गर्छ । विज्ञानले मंगलग्रह खोज्न सिकाउँछ । मंगलग्रहमा जीवन खोज्न सिकाउँछ । दर्शनले जीवनमा मंगल खोज्न सिकाउँछ । विज्ञान भनेको ल्याबमा प्रमाणित गर्ने चिज मात्र होइन, तर्क पनि विज्ञान हो । जीवन बाँसको लिङ्गो जस्तो होइन, रुखको हाँगा जस्तो सबै ज्ञानले भरिपूर्ण बनाउनुपर्छ । तसर्थ कुनै पनि विषयलाई हेर्दा समग्रताबाट आंशिकतर्फ वा आंशिकबाट समग्रतातर्फ (होल टु पार्ट वा पार्ट टु होल) दुवै रूपमा हेर्नु पर्छ । ऊर्जाको सवालमा पनि यही सिद्धान्त लागु हुने हो ।”

त्यस्तै, आफ्नो पुस्तक चरित्र विज्ञानमा स्वामी सच्चितानन्द विशुद्धदेव व्याख्या गर्नुहुन्छ: “अनुसन्धानको क्रममा प्रत्येक प्रोटोन, इलेक्ट्रोन र तटस्थ निराकार ऊर्जाभित्र पनि सूक्ष्मातिसूक्ष्म अनन्त प्रोटोन, इलेक्ट्रोन र तटस्थ ऊर्जाहरू विद्यमान छन् भन्ने तथ्य खुल्न आएको छ । यस्तो अवस्थामा त्यही तटस्थ ऊर्जाको सूक्ष्मातिसूक्ष्म रूपलाई ‘मिजोला’ भनिएको छ । क्वान्टम विज्ञानअनुसार त हाइड्रोजन परमाणुभित्र रहेका अनन्त सूक्ष्म कणहरूमध्ये एउटा कणभित्रको इलेक्ट्रोन र प्रोटोनको स्वरूप पनि यो विशाल ब्रह्माण्ड सरह नै छ । जुन सिद्धान्तले यो ब्रह्माण्ड चलिरहेछ, त्यही सिद्धान्त त्यहाँ पनि लागु हुन्छ ।

सूक्ष्मातिसूक्ष्म रूपमा जाँदा जाँदै जहाँ पनि जुनसुकै सूक्ष्म अवस्थामा पनि यिनै सकारात्मक, नकारात्मक र तटस्था ऊर्जा नै क्रियाशील रहेका हुन्छन् । केन्द्र स्थापनाका लागि सकारात्मक ऊर्जाबाट स्वतः प्रतिक्रियास्वरूप नकारात्मक ऊर्जा पैदा हुनु तथा सन्तुलन राख्न तटस्थ ऊर्जा बन्नु ऊर्जाको कार्य गर्ने स्वभाविक ढङ्ग हो । यहाँभन्दा पनि पर के छ त ? भन्ने जिज्ञाशाको क्रममा वैज्ञानिकहरू एउटा अनौठो शक्तिलाई स्वीकार्दछन् । यहीँ आएर यिनीहरूको खोज र व्याख्या पनि रोकिन पुग्दछ । यी तथ्यबाट ऊर्जा अवर्णनीय, अगम्य र अचिन्त्य छ भन्ने कुरा स्वतः प्रमाणित हुन पुग्दछ । यसैलाई पूर्वीय दर्शनले सत्यम्, शिवम् र सुन्दरम् भनेको छ । जो वाणीले बोल्न सकिन्न, तर जसको शक्तिबाट यो वाणी बोलिरहेछ; जो मनद्वारा मनन गर्न सकिन्न, किन्तु जसबाट यो मनले मनन गर्न समर्थ हुन्छ; जसलाई यो आँखाले देख्न सकिन्न, तर जसको सहायताले यो आँखा देख्दछ; जसलाई यी कानले सुन्न सकिन्न, तर जसबाट नै यो कानमा सुन्ने शक्ति आउँछ त्यसैलाई तिमी ब्रह्म भनेर जान ।”

आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तअनुसार ब्रह्म ऊर्जा नै सृष्टिमा परिणत हुन्छ । ब्रह्म ऊर्जाद्वारा ब्रह्मतेज विभाजित हुँदा साकार सृष्टिको विस्तार हुन्छ भने सृष्टिलाई ब्रह्मतेजले गुणान गर्दा सृष्टि फेरि निराकार ब्रह्म ऊर्जामै विलिन (लय समाहित) हुन्छ । सृष्टि र प्रलय भनेको क्रमशः ब्रह्म ऊर्जामा ब्रह्म तेजको वर्गले भाग र ब्रह्म तेजको वर्गसँग पदार्थको गुणनफल हो । ब्रह्म रूप भनेको ॐ हो ।

खप्तडबाबाको विचार विज्ञानले पनि विचारको मूल आधार ऊर्जालाई नै मानेको छ । विद्युत् ऊर्जा र चेतनाको सूक्ष्म शक्ति एउटै हो । जलविद्युतबाट उत्पादन हुने शक्ति निकाल्दा पानीको बहाब र उचाई अर्थात् प्रणालीको कार्यक्षमता (इटा) स्फेसिफिक ग्राभिटी (गामा) पानीको बहाब (क्यु) र उचाइ (एच्) को आधारमा शक्ति निकाल्छौँ । ऊर्जा भनेको शक्ति र समयको गुणानफल हो । शक्तिलाई समयले गुणा गर्याे भने ऊर्जामा परिणत हुन्छ । ऊर्जालाई समयले भाग गर्याे भने शक्तिमा परिणत हुन्छ ।

टुकीको धुवाँदेखि हाइड्रोजन ऊर्जाको युगसम्म आइपुग्दा होस् वा वैदिक कालदेखि आधुनिक युगसम्म आइपुग्दा होस् ऊर्जाको भौतिक र अध्यात्मिक पक्षबीचको सम्बन्धमा उत्तिकै अनुसन्धान रही आएको छ । तसर्थ क्वान्टम मेकानिक्स, कृत्रिम बौद्धिकता (एआइ) अनि, उपनिषददेखि वेदान्त दर्शनसम्ममा ‘ऊर्जा’को व्याख्या फरकफरक तर एकअर्कासँग अन्तरसम्बन्धित रहेको पाइन्छ ।
(लेखक इन्जिनियर हुन् ।)

याे लेख ऊर्जा संचार वार्षिक जर्नल २०८२ बाट साभार गरिएकाे हाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img