काठमाडाैँ । दुई लाख रुपैयाँ राशिको हेमबहादुर मल्ल सम्मानबाट रामकण्ठ मकजु श्रेष्ठ र रामेश्वर खनाल पुरस्कृत भएका छन् । श्रेष्ठलाई २०८१ र खनाललाई २०८२ सालको सम्मान प्रदान गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजधानीमा आयोजित कार्यक्रममा श्रेष्ठ र खनाललाई सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् । नेपाल जनप्रशासन संघले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हरेक वर्ष सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याउने एक जनालाई हेमबहादुर मल्ल सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले संस्थाको विकास र विस्तारमा हेमबहादुर मल्लले पुर्याएको योगदानको स्मरण गर्दै प्रशंसा गरे । उनले अत्यावश्यक वस्तु नुनको अभाव हुन नदिन कर्पोरेशनले करिब ६ महिनालाई पुग्ने गरी भण्डारण गर्दै आएको बताए। विपद्का समयमा समेत अत्यावश्यक वस्तुको अभाव हुन नदिन कर्पोरेशनले काम गरिरहेको उनको भनाइ थियो ।
हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनमा २५ वर्ष महाप्रबन्धकका रूपमा नेतृत्व गरेका थिए । उनको निधन २०५७ साल कात्तिक १२ गते भएको थियो । उनको योगदानको स्मरणमा सुरुमा एक लाख रुपैयाँ राशिको हेमबहादुर मल्ल पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको थियो । पछिल्लो समय पुरस्कार राशि बढाएर दुई लाख रुपैयाँ पुर्याइएको हो ।
सम्मान तथा पुरस्कार ग्रहण गरेपछि श्रेष्ठ र खनालले आभार व्यक्त गर्दै यसले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताए । खनालले आफूले प्राप्त गरेको पुरस्कार सार्वजनिक प्रशासन क्षेत्रमा योगदान गर्ने सबैका लागि सम्मान भएको उल्लेख गरे ।
यसअघि याे पुरस्कारबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य, डा. भेषबहादुर थापा, कल्याण श्रेष्ठ, डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाल पुरस्कृत भइसकेका छन् ।











