काठमाडाैँ । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकतामा राख्दै १८औँ संस्करणको नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन् । नाडाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको यसपटकको अटो शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका ५३ ब्रान्ड सहभागी छन् ।
प्रदर्शनीमा डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरिएको छ । विदेशी ब्रान्डका नयाँ सवारीसाधनसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्रदर्शनीको विशेष आकर्षण बनाइएको छ ।
‘मेड इन नेपाल’का लागि छुट्टै प्याभिलियन
नाडाले यसपटक ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन सञ्चालन गरेको छ । उक्त प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिएको छ ।
नाडाका अनुसार करिब आठ नेपाली उत्पादकले उक्त प्याभिलियनमा सहभागिता जनाएका छन् । विद्युतीय मोटरसाइकल तथा स्कुटर, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री उत्पादन गर्ने नेपाली कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेका छन् ।
नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ यसपटकको प्रमुख आकर्षणमध्ये एक बनेको छ । यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादक प्रदर्शनीमा सहभागी छन् ।
आयातबाट उत्पादनतर्फको संकेत
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना विस्तार हुँदै गएको बताए । उनका अनुसार नेपाल अब सवारीसाधन आयात र बिक्रीमा मात्र सीमित नरही उत्पादन, एसेम्बली, पार्टपुर्जा तथा अन्य अटोमोबाइल सामग्रीको क्षेत्रमा समेत अघि बढिरहेको छ ।
उनले नाडाको पाँच दशकको यात्रामा नेपालमा गाडी बिक्री, खरिद र सर्भिसिङसँगै पार्टपुर्जा आपूर्ति तथा उत्पादनसम्बन्धी गतिविधि विस्तार भएको बताए ।
नाडाका अनुसार पाँच दशकअघि गाडी व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको संस्था अहिले सवारीसाधन बिक्रीसँगै एसेम्बली, वित्तीय सुविधा, बीमा, सर्भिसिङ र पार्ट्स आपूर्तिसम्मका व्यवसायीको प्रतिनिधिमूलक संस्थाका रूपमा विकसित भएको छ ।
५३ ब्रान्ड, २०० भन्दा बढी स्टल
अटो शोमा प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायतका ब्रान्ड सहभागी छन् ।
लाइट कमर्सियल सवारीतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स सहभागी छन् ।
दुईपांग्रेमा रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायतका ब्रान्ड रहेका छन् ।
सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स तथा ग्यारेज उपकरणलगायतका सामग्रीका २०० भन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।
प्रवेश शुल्क २०० रुपैयाँ
अटो शोमा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ ।
विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपाली उत्पादनलाई एउटै मञ्चमा विशेष स्थान दिइएकाले यसपटकको नाडा अटो शोले नेपालको अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई समेत देखाएको छ । आयातमा आधारित बजारसँगै स्वदेशी उत्पादन, एसेम्बली र अटोमोबाइल सामग्री उत्पादनतर्फ बढिरहेको नेपालको उद्योगलाई प्रदर्शनीले उपभोक्तासामु प्रत्यक्ष रूपमा प्रस्तुत गरेको छ ।











