Saturday, June 27, 2026
spot_img

स्थानीयद्वारा तल्लो बरुण जलविद्युत् आयोजनाको काम रोक्का

spot_img

Share

spot_img

काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मित महत्व बोकेको बरुण नदीमा निर्माण अघि बढेको १३२ मेगावाटको तल्लो बरुण जलविद्युत् आयोजनाको काम स्थानीयले रोक्का गरेका छन् । स्थानीयलाई जानकारी नै नदिई काम सुरु गरेको भन्दै माङडुवा र तल्लो वरुण हाइड्रो परियोजना सर्घष समितिले स्थानीयहरूको सहकार्यमा काम रोकेको हो ।

आयोजनाको वातावरणीय अध्ययन तथा सर्भे सम्बन्धी केही जानकारी नदिई काम सुरु गरेपछि रोकेको माङडुवा र तल्लो वरुण हाइड्रो परियोजना सर्घष समितिका अध्यक्ष छेसिङ भोटेले बताए । उनका अनुसार आयोजनाको सर्भे गर्न आएका प्रवर्द्धक कम्पनी एम्पिक इनर्जी प्रालिका प्रतिनिधिहरूलाई सम्झाएर फिर्ता पठाइएको छ ।

स्थानीयले यसअघि पनि आयोजनाको विकास गर्न पानी नाप्न पुगेका टोलीमाथिे ढुंङ्गामुढा प्रहार गरेका थिए । धार्मिक र सांस्कृतिक महत्व बोकेको तथा स्थानीयवासीको ठूलो आस्थाको केन्द्र रहेको बरुण नदीमा आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन थालेपछि स्थानीय आक्रोशित बनेका थिए ।

बरुण नदीमा आयोजना निर्माण गर्दा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिएको नदीको महत्व हराउने स्थानीयको विश्वास छ । सरकारी निकाय तथा जल माफियाहरूले हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिएको नदीको महत्व गुमाउन खोजेका स्थानीयको आरोप छ ।

भोटखोला गाउँपालिकामा मात्रै ५०÷६० वटा जलविद्युत् आयोजना छन् । तर, तिर्थस्थललाई तथा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरलाई बचाइराख्नुपर्छ भनेर बरुण जलविद्युत् आयोजनाको काम रोक्न माग स्थानीयको रहँदै आएको छ ।

गाउँपालिकाले पनि यो नदीमा जलविद्युत् आयोजना निर्माण नगर्ने निर्णय गरीसकेको छ । गाउँपालिकाको यो निर्णयलाई ४ स्थानीय राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, नेकपा माओवादी, एकिकृत समाजवादी पार्टी) ले समर्थन जनाई जलविद्युत् विकासको काम रोक्न निर्देशन यसअघि नै दिइसकेका छन् ।

नदीमा जलविद्युत् उत्पादन तथा मेसिनहरूको प्रयोग समेत गर्न नदिने स्थानीयको भनाई छ । तल्लो बरुणको निर्माण प्रक्रिया अघि बढाएपछि मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको छ । पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भविष्यमा अस्तित्व हराउने उनीहरूको विश्वास छ ।

विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको स्थानीयको भनाई छ ।

ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने भोटेको भनाइ छ । बरुण नदीले ऐतिहासिक, धार्मिक एवं मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

तल्लो बरुण जलविद्युत् आयोजना

विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गरिसकेको छ । कम्पनीले पनि आयोजनाको काम निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजना निर्माण सम्पन्न गर्न २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादीत विद्युत् २२० केभी प्रसारण लाइनमार्फत १.७३ किलोमिटर दुरीमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img