काठमाडाैँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले भारत र बंगलादेशमा १८ अर्ब २६ करोड ७० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि मंसिरसम्म कुल २ हजार ७१४ गिगावाट आवर विद्युत् निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो।
तर सुक्खायाम सुरु भएसँगै आन्तरिक उत्पादन घट्दा निर्यात क्रमशः सीमित हुँदै गएको छ। मंसिरपछि आयात सुरु भइसकेको छ भने पुसमा विद्युत् निर्यात आंशिक रूपमा मात्रै भइरहेको छ।
अहिले विद्युत आयात पनि भइरहेको छ। नेपालमा अधिकांश नदी प्रवाह (आरओआर) जलविद्युत परियोजना छन्। त्यसले गर्दा बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ। हिउँदमा भने क्षमताको २०–३० प्रतिशतको अनुपातमा बिजुली उत्पादन हुन्छ।
अहिले नेपालमा विद्युतको जडित क्षमता चार हजार मेगावाट भन्दा माथि छ। अहिले नेपालमा विद्युत् भने २२ सय मेगावाट हाराहारी छ। त्यसअनुसार हिउँदमा विद्युत् निर्यात गर्न सकिन्छ। तर, हिउँदमा भने विद्युत् उत्पादन एक हजार मेगावाटदेखि १५ सय मेगावाटसम्ममा सीमित हुन्छ, जुन उत्पादनले आन्तरिक माग धान्न पुग्दैन। त्यो अवस्थामा आन्तरिक माग सम्बोधन गर्न हिउँदमा भारतबाट विद्युत् आयात गर्नुपर्छ।
अहिले भारतले नेपाललाई ६५४ मेगावाट बिजुली खरिद गर्न अनुमति दिएको छ। त्यस अन्तर्गत विद्युत् आयात गरेर प्राधिकरणले आन्तरीक माग धानिरहेको छ। अहिले प्राधिकरणले चार–पाँच सय मेगावाट विद्युत् आयात गरिरहेको छ।








