काठमाडाैँ । कोरला नाकामार्फत नेपाल भित्रिएका बीवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधनमा कुनै अनियमितता पुष्टि नभएपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका सबै सवारीसाधन फुकुवा गरेको छ । दुई सातादेखि रोकिएका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा दिँदै गन्तव्यतर्फ पठाउन थालिएको हो ।
आयात प्रक्रियामा कैफियत हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोममा २६६ र कोरला नाकामा ३९४ गरी कुल ७७५ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो । ती सवारीसाधन साइमन इन्कले आयात गरेको जनाएको छ ।
घटनाबारे छानबिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले जेठ २१ गतेदेखि कास्की, पर्वत, जोमसोम र कोरला नाकामा पुगेर स्थलगत अध्ययन तथा अनुसन्धान गरेको थियो ।
समितिको प्रारम्भिक प्रतिवेदनमा कोरला नाकामार्फत भित्रिएका विद्युतीय सवारीसाधनमा कुनै कैफियत फेला नपरेको निष्कर्ष आएपछि सवारीसाधन फुकुवा गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा रहेका सबै सवारीसाधन सम्बन्धित पक्षलाई बुझाउन थालिएको हो। उनका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ सवारीसाधनमध्ये आइतबार र सोमबारसम्म २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा मात्रै बाँकी छन् ।
यसैबीच, कोरला नाकामा रहेका भन्सार जाँचपास सम्पन्न भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। भन्सार प्रक्रिया बाँकी रहेका सवारीसाधनको आवश्यक प्रक्रिया पूरा गरी सहज रूपमा गन्तव्यमा पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।
यस घटनाले केही समय विद्युतीय सवारीसाधन आयात प्रक्रियामाथि प्रश्न उठाए पनि प्रारम्भिक छानबिनबाट अनियमितता पुष्टि नभएपछि आयातकर्ता पक्षले राहत महसुस गरेको छ ।








