काठमाडाैँ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई आधुनिक प्रविधिसहित उज्यालो बनाउने अभियानलाई तीव्रता दिएको छ । सडक सुरक्षामा सुधार ल्याउने, रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्की जोड्ने चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान कार्य अघि बढाइएको हो ।
महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार मुख्य तथा भित्री सडकहरूमा समेत स्मार्ट बत्ती विस्तार गर्ने योजना अघि सारेको जनाएको छ । दोस्रो चरणअन्तर्गत महानगर क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर लामो चक्रपथ खण्डमा आधुनिक बत्ती जडानको काम कार्यान्वयन भइरहेको छ ।
नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले १० करोड रुपैयाँ विनियोजन गरेको छ भने नेपाल विद्युत प्राधिकरणले ३ करोड रुपैयाँ सहयोग गरेको छ । कुल १३ करोड रुपैयाँको लगानीमा परियोजना सञ्चालन भइरहेको उनले बताए ।
परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा, ८ मिटर अग्ला १९५ वटा, ७ मिटर अग्ला २२४ वटा पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ । यी संरचनाबाट महानगरभित्रको सम्पूर्ण ७.९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ ।
महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म स्मार्ट बत्ती सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसपछि क्रमिक रूपमा अन्य क्षेत्रमा समेत सेवा विस्तार गरिने जनाइएको छ ।
नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा स्मार्ट बत्ती सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै यस परियोजनाले ललितपुरलाई थप सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।








