Thursday, June 25, 2026
spot_img

हिउँदको सुस्तता अन्त्य, बर्खाले लमजुङका जलविद्युत् आयोजनामा ल्यायो उत्साह

spot_img

Share

spot_img

काठमाडाैँ । गण्डकी प्रदेशको लमजुङ जिल्ला जलविद्युत् उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । बर्खायाम सुरु भएसँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि जिल्लास्थित अधिकांश जलविद्युत् आयोजनाले पूर्ण वा नजिकको क्षमतामा विद्युत् उत्पादन गर्न थालेका छन् ।

हिउँदयाममा पानीको अभावका कारण उत्पादन क्षमताभन्दा निकै कम विद्युत् उत्पादन गरिरहेका आयोजनाहरू अहिले भने पर्याप्त जलप्रवाहका कारण पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । यसले राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बेँसीसहर नगरपालिका–१, दलालस्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रमा करिब दुई सातायता पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ । हिउँदको समयमा मर्स्याङ्दी नदीमा पानीको बहाव न्यून हुँदा २६–२७ मेगावाट मात्र उत्पादन हुँदै आएकोमा हाल आयोजनाले ३५/३५ मेगावाट क्षमताका दुई टर्बाइनमार्फत ७० मेगावाट नै उत्पादन गरिरहेको छ ।

सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सञ्चालनमा आएको उक्त आयोजना करिब २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो ।

त्यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले पनि केही दिनयता पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको जनाएको छ । सन् २०१३ मा निर्माण सुरु भएको यो आयोजना सन् २०१७ देखि व्यावसायिक उत्पादनमा आएको हो। आयोजना चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत र सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानीमा निर्माण गरिएको हो ।

लमजुङका अन्य जलविद्युत् आयोजनाहरूमा पनि उत्पादन वृद्धि भएको छ । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रो पावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा ४.४ मेगावाटको राँधीखोला आयोजनाले समेत पानीको उपलब्धतासँगै उत्पादन बढाएका छन् ।

यस्तै, चार–चार मेगावाट क्षमताका खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, २.४ मेगावाटको अपर स्याँगेखोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रोहाइड्रो तथा ८० किलोवाटको मिदिम माइक्रो हाइड्रोमा पनि विद्युत् उत्पादनमा उल्लेखनीय सुधार आएको छ ।

जलविद्युत् क्षेत्रका जानकारहरूका अनुसार लमजुङमा सञ्चालित आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमार्फत देशभर आपूर्ति हुँदै आएको छ । बर्खायाममा उत्पादन वृद्धि हुँदा देशको ऊर्जा व्यवस्थापन सहज बन्ने र आयातित विद्युत्माथिको निर्भरता कम गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

लमजुङमा मस्र्याङ्दी नदी, दोर्दी, किसेदी, मिदिम तथा अन्य सहायक खोलाहरूमा वर्षायाममा जलप्रवाह बढेसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय सुधार हुने गरेको छ भने हिउँदयाममा पानीको सतह घट्दा उत्पादनमा कमी आउने समस्या दोहोरिने गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img