काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधान तथा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५०बुँदे कार्ययोजना पारित गरेको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा धुलिखेलमा बसेको कार्यसमिति बैठकले ऊर्जा क्षेत्रको नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, प्रसारण पूर्वाधार विस्तार, विद्युत् खरिद सम्झौता (पीपीए) सुधार, विद्युत् व्यापार विस्तार तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर कार्ययोजना अनुमोदन गरेको हो ।
इप्पानले नेपाल विद्युत् प्राधिकरणमा पीपीएका लागि आवेदन दिएर रोकिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको पीपीए तत्काल खुलाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार बैंकयोग्य (Bankable) पीपीए लागू गर्न तथा स्टोरेज र पम्प स्टोरेज आयोजनाका लागि छुट्टै विद्युत् दर निर्धारण गर्न पहल गर्ने जनाएको छ ।
त्यस्तै, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने, वन क्षेत्र, जग्गा प्राप्ति तथा वातावरणीय स्वीकृतिका प्रक्रियालाई सरल बनाउने, विद्युत् आयोजनामा दोहोरो कर हटाउने, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने लगायतका विषयलाई पनि कार्ययोजनामा समेटिएको छ ।
इप्पानले उद्योगलाई सस्तो विद्युत् उपलब्ध गराई आन्तरिक खपत बढाउने, विद्युतीय सवारी तथा विद्युतीय खाना पकाउने प्रणालीलाई प्रोत्साहन गर्ने, ब्याट्री स्टोरेज र हरित हाइड्रोजन प्रवर्द्धन गर्ने तथा कार्बन व्यापारलाई अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ ।
बैठकले ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, धितोपत्र बजार, बैंक तथा वित्तीय संस्था, वन तथा वातावरण, सोलार तथा हाइड्रोजनलगायत विषयगत १६ वटा समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको छ । साथै, ऊर्जा क्षेत्रका अनुभवी व्यक्तित्वहरू सम्मिलित ११ सदस्यीय सल्लाहकार समिति र ९ सदस्यीय विज्ञ सल्लाहकार समिति पनि गठन गरिएको छ ।
यसैबीच, इप्पानले आगामी २०८३ माघ २ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालय हाइड्रो एक्स्पो–२०२७’ आयोजना गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष डाँगीले स्पष्ट भिजन र योजनासहित निजी क्षेत्रको भूमिका सशक्त बनाउँदै नेपालको ऊर्जा विकासमा इप्पानले प्रभावकारी भूमिका खेल्ने बताए । उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सदस्य, विज्ञ तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
इप्पानद्वारा जारी विज्ञप्ति








