Monday, July 6, 2026
spot_img

प्रसारण लाइनमा नेपाली निजी क्षेत्रको बढ्दो उपस्थिति, अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टीबीसीबी) प्रणालीअन्तर्गत बुट (बिल्ड–ओन–अपरेट–ट्रान्सफर) मोडलबाट चार वटा प्रसारण लाइन आयोजना अघि बढाएको छ । यससँगै प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताको नयाँ अभ्यास सुरु भएको छ ।

चारवटै आयोजनाका लागि नेपाल, भारत, चीन, अमेरिका लगायतका देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमले आशयपत्र (ईओआई) पेश गरेका छन् । यस प्रक्रियामा नेपाली निजी क्षेत्रका कम्पनी तथा नेपाल–नेतृत्वका कन्सोर्टियमहरूको उल्लेखनीय सहभागिता देखिएको छ । यसले प्रसारण पूर्वाधार विकास अब सरकारी निकायको मात्र जिम्मेवारी नभई निजी लगानी, प्राविधिक सहकार्य र औद्योगिक साझेदारीसँग पनि जोडिन थालेको संकेत गरेको छ ।

नेपाली तथा नेपाल–नेतृत्वका सहभागीहरूमा पावर ट्रान्समिसन कम्पनी नेपाल, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, शिवश्री–डाँफे संयुक्त उपक्रम, सिग्मा कन्स्ट्रक्सन तथा हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड, युनिभर्सल–माउन्टेन कन्सोर्टियम नेपाल, बलेफी हाइड्रोपावर–लिटमस केबल–शर्मा एन्ड कम्पनी कन्सोर्टियम, शर्मा एन्ड कम्पनी–बलेफी–लिटमस–हुलास स्टिल संयुक्त उपक्रम, बलेफी हाइड्रोपावर–शर्मा एन्ड कम्पनी–लिटमस केबल–जेड इन्फ्रा संयुक्त उपक्रम, प्याराडाइज बिल्डर्स–एप्लाइड इन्जिनियरिङ नेपाल–एब्सोल्युट प्रोजेक्ट्स इन्डिया कन्सोर्टियम तथा के एन्ड ए ईपीसी–के एन्ड ए इन्जिनियरिङ–कोस्मिक संयुक्त उपक्रम अमेरिका–नेपाल रहेका छन् ।

पावर ट्रान्समिसन कम्पनी नेपाल, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, शिवश्री–डाँफे संयुक्त उपक्रम तथा बलेफी हाइड्रोपावर–शर्मा एन्ड कम्पनी–लिटमस केबल–जेड इन्फ्रा संयुक्त उपक्रमले टीएल–४ का लागि आशयपत्र पेश गरेका छन् । बलेफी हाइड्रोपावर–लिटमस केबल–शर्मा एन्ड कम्पनी कन्सोर्टियमले टीएल–३ तथा शर्मा एन्ड कम्पनी–बलेफी–लिटमस–हुलास स्टिल संयुक्त उपक्रमले टीएल–२ का लागि आवेदन दिएका छन् । सिग्मा कन्स्ट्रक्सन तथा हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले टीएल–१, टीएल–३ र टीएल–४ तथा युनिभर्सल–माउन्टेन कन्सोर्टियम नेपालले टीएल–३ र टीएल–४ मा चासो देखाएका छन् ।

टीएल–२ अन्तर्गत शर्मा एन्ड कम्पनी, बलेफी, लिटमस र हुलास स्टिलको संयुक्त उपक्रम एकमात्र नेपाली बोलपत्रदाता बनेको छ । लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान स्थापित गरेको छ । कम्पनीका उत्पादनहरूले देशभित्रका महत्वपूर्ण ऊर्जा, प्रसारण, वितरण तथा पूर्वाधार आयोजनाको आवश्यकता पूरा गर्नुका साथै निर्यातमार्फत नेपालको औद्योगिक तथा आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

बलेफी हाइड्रो पावर लिमिटेड नेपालको जलविद्युत् क्षेत्रमा सक्रिय निजी क्षेत्रको कम्पनी हो । कम्पनीले स्वच्छ, नवीकरणीय तथा दिगो ऊर्जा उत्पादनमा केन्द्रित भई जलविद्युत् आयोजनाको विकास, निर्माण तथा सञ्चालन गर्दै आएको छ । नेपालको ऊर्जा उत्पादन वृद्धि, विद्युत् आपूर्ति सुदृढीकरण तथा ऊर्जा सुरक्षामा योगदान पुर्याउने उद्देश्यका साथ कम्पनीले जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । त्यस्तै, हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी इस्पात उत्पादक उद्योगमध्ये एक हो । कम्पनीले निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने विभिन्न प्रकारका उच्च गुणस्तरीय स्टिल उत्पादन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय कम्पनीहरूतर्फ भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडले टीएल–१, टीएल–२ र टीएल–३ का लागि आवेदन दिएको छ भने अशोका बिल्डकन लिमिटेडले टीएल–१ र टीएल–२ मा चासो देखाएको छ । टेक्नो–इन्टरप्राइजेन–रौसिना उद्योग–आनन्द सोलार, भिभियाना पावर टेक, रिसोनिया लिमिटेड, मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर्स, टीबीईए तथा चाइना नेशनल मेसिनरी इम्पोर्ट एन्ड एक्सपोर्ट कर्पोरेसन लगायतका कम्पनीहरूको पनि सहभागिता रहेको छ ।

प्राधिकरणका अनुसार बुट मोडलअन्तर्गत छनोट हुने विकासकर्ताले प्रसारण लाइनको विस्तृत अध्ययन, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन तथा मर्मतसम्भार गर्नेछ । तोकिएको सञ्चालन अवधिपछि आयोजना नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिनेछ । कम्पनी छनोट प्राविधिक क्षमता, वित्तीय व्यवस्थापन, आयोजना बुझाइ तथा प्रतिस्पर्धात्मक प्रसारण सेवा शुल्कका आधारमा हुनेछ ।

चार आयोजनामध्ये शीतलपाटी (अरुण हब)–इनरुवा ४०० केभी प्रसारण लाइन करिब ९५ किलोमिटर लामो हुनेछ । संखुवासभादेखि सुनसरीसम्म विस्तार हुने यस लाइनबाट अरुण करिडोरका निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ४,४०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने अपेक्षा गरिएको छ ।

तिङ्ला–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर ४०० केभी प्रसारण लाइन करिब १३४ किलोमिटर लामो हुनेछ । यसले सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली र धनुषा जोड्दै करिब ४,०८० मेगावाट विद्युत् वहन गर्ने क्षमता राख्ने अनुमान गरिएको छ ।

त्यसैगरी, डाँडाखेत–बुर्तिबाङ १३२ केभी प्रसारण लाइन करिब ३३ किलोमिटर लामो हुनेछ, जसले म्याग्दी र बागलुङ जोड्नेछ । यसको अनुमानित वहन क्षमता २५० मेगावाट हुनेछ । रिडी–तम्घास १३२ केभी प्रसारण लाइन करिब २८ किलोमिटर लामो हुनेछ, जसले पाल्पा र गुल्मी जोड्दै करिब २२५ मेगावाट विद्युत् वहन गर्ने क्षमता राख्नेछ ।

आशयपत्र विवरणअनुसार रिडी–तम्घास आयोजनाका लागि सबैभन्दा धेरै १४ प्रस्ताव दर्ता भएका छन् । डाँडाखेत–बुर्तिबाङका लागि १२, शीतलपाटी–इनरुवाका लागि ९ तथा तिङ्ला–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर आयोजनाका लागि ७ प्रस्ताव प्राप्त भएका छन् ।

अब प्राप्त आशयपत्रहरूको प्राविधिक तथा वित्तीय मूल्यांकन गरिनेछ । मूल्यांकनबाट छनोट भएका कम्पनी तथा कन्सोर्टियमलाई प्रस्ताव (आरएफपी) पेश गर्न आमन्त्रण गरिनेछ । अन्तिम छनोट भने वार्षिक प्रसारण सेवा शुल्कको प्रतिस्पर्धात्मक प्रस्तावका आधारमा हुनेछ ।

प्राधिकरणका अनुसार जलविद्युत् उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तार पनि राष्ट्रिय प्राथमिकताको विषय बनेको छ । समयमै प्रसारण लाइन निर्माण हुन नसके विद्युत् निकासी, आन्तरिक आपूर्ति, औद्योगिक माग तथा सीमापार विद्युत् व्यापार प्रभावित हुन सक्ने भएकाले प्रसारण पूर्वाधारलाई ऊर्जा सुरक्षा, औद्योगिक विकास तथा राष्ट्रिय आर्थिक रणनीतिसँग जोडिएको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img