काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा विद्युतीय पोलमा करेन्ट सर्ट भई ‘स्टे तार’ (विद्युतीय पोल अड्याउन जमिनमा बाँधिएको स्टिलको सहायक तार) मा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा एक महिलाको दुखद् मृत्यु भएको छ । दैनिक दूध बेचेर परिवारको जीविकोपार्जन गर्दै आएका ती महिलाको मृत्यु भएपछि स्थानीय बासिन्दाले नेपाल विद्युत प्राधिकरणसँग उचित क्षतिपूर्ति र जिम्मेवारीको माग गरेका छन् ।
गाउँपालिका वडा नम्बर ८ भुम्लुटारको तल्लोटार डाँडाथोक क्षेत्रमा २०८३ साउन ७ गते बिहीबार करिब ७ बजे विद्युतीय पोलमा करेन्ट सर्ट भई गाउँपालिका वडा नम्बर ७ फलाँटे निवासी ४१ वर्षीया देवी उप्रेतीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
कृषि पेसामा संलग्न उप्रेती हरेक दिन बिहान करिब ४ बजे घरबाट निस्किएर करिब २ घण्टा पैदल उकालो हिँड्दै भैँसीको दूध बिक्री गर्न बजार धाउथिन् । बिहीबार पनि दूध बिक्रीका लागि बजार आउने क्रममा उनी दुर्घटनामा परेकी हुन् ।
मृतकका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । दैनिक दूध बिक्रीबाट आएको आम्दानीले परिवारको गुजारा चलाउनुका साथै बालबालिकाको पढाइ खर्च समेत धान्दै आएकी उनी अकालमै गुमेपछि परिवार शोकमा डुबेको छ ।
स्थानीय बासिन्दाले प्राधिकरणले घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै उचित क्षतिपूर्तिको माग गरेका छन् । उनीहरूले मृतकका छोराछोरीको शिक्षा खर्च प्राधिकरणले बेहोर्नुपर्ने, भविष्यमा रोजगारीको सुनिश्चित गर्नुपर्ने तथा यस्ता जोखिमपूर्ण विद्युतीय संरचनाको तत्काल मर्मत र व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका छन् । नेपाल विद्युत् प्राधिकरण, पाँचखाल वितरण केन्द्रका अनुसार अहिले यही विषयहरूमा रहेर स्थानीयसँग छलफल भइरहेको छ ।
यो घटनाले फेरि एकपटक ग्रामीण क्षेत्रमा व्याप्त विद्युतीय जोखिमलाई सतहमा ल्याइदिएको छ । गाउँघरमा वर्षौँदेखि मर्मत नगरिएका जीर्ण पोल, खुला छाडिएका ‘स्टे तार’ र रुखका हाँगासँग घोसिएका विद्युतीय लाइनहरू मानिसको ज्यानै लिने पासो बनिरहेका छन् । प्राविधिक चेकजाँच र नियमित मर्मतसम्भारमा प्राधिकरणले ध्यान नदिँदा सर्वसाधारणले यसरी अकालमा ज्यान गुमाउनुपरेको स्थानीय बताउँछन् । विद्युत प्राधिकरणले समयमै यस्ता जोखिमपूर्ण पोल र तारको स्तरोन्नति नगरेसम्म अझै कतिले ज्यान गुमाउनुपर्ने हो ?
स्टे तारमा कसरी बग्यो ११ हजार भोल्ट ?
सामान्य अवस्थामा विद्युतीय पोललाई अड्याउन जडान गरिएको ‘स्टे तार’मा करेन्ट प्रवाह हुँदैन । तर पोलमा विद्युत चुहावट (अर्थ फाल्ट), सर्ट सर्किट, लाइन र ‘स्टे तार’बीच सम्पर्क हुन जानु, स्टे इन्सुलेटरमा खराबी आउनु वा मर्मत तथा सञ्चालनमा भएको लापरबाहीका कारण असामान्य अवस्थामा ‘स्टे तार’मा उच्च भोल्टेज प्रवाह हुन सक्ने प्राविधिकहरू बताउँछन् ।
प्रारम्भिक प्राविधिक जानकारीअनुसार ११ केभी वितरण लाइनको पोलमा जडान गरिएको इन्सुलेटर फुटेपछि पोल तथा त्यससँग जोडिएको ‘स्टे तार’मा करेन्ट प्रवाह भएको थियो । प्राधिकरण, दाेलालघाटका प्राविधिकका अनुसार चट्याङ, हावाहुरी वा अन्य प्राविधिक कारणले इन्सुलेटर फुटेको हुन सक्ने अनुमान गरिएको छ । उक्त लाइन वि.सं. २०५२/५३ तिर निर्माण गरिएको पुरानो संरचना भएको पनि जनाइएको छ । ‘स्टे तार’ र पोल नजिक-नजिकै रहेकाले पोलमा बगेको उच्च भोल्टेज ‘स्टे तार’ हुँदै वरपरको भुइँसम्म फैलिएको थियो, जसको प्रत्यक्ष शिकार दूध बेच्न हिँडेकी देवी उप्रेती बन्न पुगिन् ।
विद्युतीय दुर्घटनामा क्षतिपूर्तिको कानुनी व्यवस्था र प्राधिकरणको कानुनी दायित्व
विद्युतीय दुर्घटनाका कारण नागरिकले ज्यान गुमाउने वा अङ्गभङ्ग हुने क्रम बढ्दो छ । हालै नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२ घुसेनीमा पनि आमा समूहको भवनको छतमा खेलिरहेका बेला ११ केभी प्रसारण लाइनको तार छुँदा एक बालक गम्भीर घाइते भई दुवै हात गुमाउन पुगेका थिए ।
उक्त घटनामा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ स्वीकृत गरी सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचार खर्च भुक्तानी गर्दै आएको छ । जसमा २ लाखसम्म विभागीय प्रमुखले, २ लाखदेखि ५ लाखसम्म सम्बन्धित उपकार्यकारी निर्देशकले, ५ लाखदेखि १० लाखसम्म मुख्य प्रशासकीय अधिकृतले, १० लाखभन्दा माथि प्राधिकरण सञ्चालक समितिले स्विकृत निर्णय गर्नुपर्ने व्यवस्था छ ।
‘मानिसको जीवनभन्दा ठूलो रकम केही हुन सक्दैन’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित परिवारलाई राहत उपलब्ध गराइए पनि रकमले पीडा भुलाउन नसक्ने र जीवनयापनमा केही सहयोग मात्र पुग्ने बताउछन् । हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको क्षतिको तथ्याङ्क डरलाग्दो रहेको भन्दै उनले प्राधिकरणलाई आफ्ना संरचनाको मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी, र सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् । साथै, दुर्घटना न्यूनीकरणका लागि नागरिक स्वयंको सचेतना पनि उत्तिकै अपरिहार्य रहेको छ ।








