काठमाडाैँ । धादिङको गल्छीदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्म ११४७ मेगावाट विद्युत प्रवाह हुने ८.५ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गर्न २८ महिना लाग्ने भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेकाे उक्त लाइन पूरा भएपछि साे क्षमताकाे विद्युत प्रवाह गरिनेछ ।
धादिङको गल्छी गाउँपालिका–८ मा रहेको मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइनको टावर नम्बर एपी–१९ र एपी–१९ए को मध्य बिन्दुदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ धनसरमा निर्माणाधीन रातमाटे सबस्टेसनमा लुप इन, लुप आउट गर्ने गरी उक्त क्वाड सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो । यसका लागि प्राधिकरणले अनुमति माग गरी विद्युत् विकास विभागमा आवेदन समेत पेश गरेको छ ।
उक्त प्रसारण लाइन अन्तर्गत २९ वटा टावरहरू रहनेछन् । टावरको अधिकतम उचाइ ६९ मिटरसम्म रहने तथा टावरबीचको दूरी ५६३.०७ मिटर देखि १०४.१६ मिटरसम्म हुनेछ ।
आयोजना निर्माणका लागि कुल २६.२९ हेक्टर जमिन आवश्यक पर्ने र २९ वटा टावरका लागि स्थायी रूपमा २.५२ हेक्टर जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएकाे छ। यस बाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत २३.२७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । यो प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) मध्य विन्दुबाट १५/१५ मिटर दायाँ–बायाँ कायम गरिने भएको छ ।