Sunday, January 19, 2025
spot_img

नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा विकास गर्न कम्पनी स्थापना हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि छुट्टै कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ । पछिल्लो समय सरकारले नवीकरणीय ऊर्जातर्फ विभिन्न योजना तथा कार्यक्रम ल्याएसँगै यसतर्फ निजी क्षेत्रको आकर्षण बढ्दै गएको छ । अपेक्षाकृत सफलता प्राप्तिका लागि नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन र विकासका लागि कम्पनी स्थापना गर्न लागिएको हो ।

परिवर्तित परिप्रेक्ष्यमा कम्पनी/फर्महरू परिचालित रहेको अवस्थामा पनि एकिकृत प्रयासबाट उच्चस्तरको सेवा तथा सामग्री आपूर्ति हुने, परिस्कृत प्रविधि उपयोग हुने, उर्जा उत्पादनको गुणस्तर तथा परिमाणमा सुधार हुने, सामूहिक कार्यशैली विकास हुने भएकोले एउटा नविकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापना गर्नका लागि तयारी थालिएको नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) का अध्यक्ष गुणराज ढकालले जानकारी दिए ।

कम्पनी स्थापनाका लागि नेपाल लघुजलविद्युत विकास संस्थाको अग्रसरता आवश्यक छलफल, विचार विमर्श र सम्भावित कार्यनीतिका लागि प्रारम्भिक छलफल भइरहेको पनि उनले जानकारी दिए ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर रोक्न र कम गर्न नवीकरणीय उर्जा प्रविधिको अधिकतम प्रवर्द्धन गर्नु आवश्यक छ भन्ने भाष्य स्थापित हुँदै गइरहेको जग जाहिर छ । नेपालले पनि राज्यस्तरमा, विभिन्न अनतर्राष्ट्रिय मञ्चहरूमा यस सम्बन्धि प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

यस सन्दर्भमा सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य पुर्याउने साथै सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा प्रविधिबाट उत्पादन गरिने ऊर्जा तिन गुणा र ऊर्जा सक्षमता दुई गुणा पुर्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसरण गर्ने नीति नेपालले लिएको छ । दीगो विकास लक्ष्यका लागि नेपालको प्रतिवद्धता पनि स्मरणीय नै छ ।

नेपालले नवीकरणीय ऊर्जा प्रविधिमा लघु जलविद्युत, सोलार पिभी, सोलार थर्मल, बायोग्यास र बायोमास मुख्य रुपमा लिँदै आएको छ । यी प्रविधिहरू प्रवर्द्धनका लागि निजी क्षेत्रले प्राविधिक र आर्थिक योगदान गर्दै आएको उनले बताए । सोलार पिभी भने विभिन्न उपयोगका लागि विकास गरिँदै आएको छ ।

नवीकरणीय उर्जा क्षेत्रमा लागेका निजी कम्पनी/फर्महरूको संख्या ६०० भन्दा बढी रहेका छन् । विद्यमान अवस्थामा ती मध्ये केहीले मात्र काम गर्न सकिरहेको अवस्था रहेको छ ।

मुलुकको ऊर्जा नीति र प्रणाली र जलवायु परिवर्तनको असर कम गर्नका लागि नविकरणीय उर्जा प्रविधिलाई प्रवर्द्धन गर्न र पुनर्उत्थान गर्न नेपाल सरकार र विभिन्न निकायहरु कटिवद्ध रहेको विद्यमान अवस्थामा निजी क्षेत्रका उद्यमीहरुले आफ्नो योग्यता र अनुभवलाई सदुपयोग गर्नु अपरिहार्य भएको छ ।

कम्पनीको स्थापना पश्चात नवीकरणीय उर्जा प्रविधिको प्रवर्द्धन हुनेछ भने स्थानीय तहमा ऊर्जा उत्पादन व्यवस्थित हुने, स्थानीय प्राकृतिक श्रोत परिचालित हुने र रोजगारीको अवसर वृद्धि हुने अपेक्षा गरिएको छ ।

कम्पनीमा लघुजलविद्युत् संस्थाका पूर्वअध्यक्ष तथा नवीकरणीय ऊर्जा प्रविधिविद एवं उद्यमी सुरेन्द्रभक्त माथेमा, संस्थाका पूर्व अध्यक्ष तथा प्रविधिविद कृष्ण प्रसाद देवकोटा, संस्थाका अध्यक्ष तेज नारायण ठाकुर, रिकोनका अध्यक्ष गुणराज ढकाल, नेपाल सौर्य विद्युत उत्पादक सघंका पूर्वअध्यक्ष तथा उद्यमी प्रकाश विक्रम बस्नेतसँग हातेमालो गर्ने योजना छ ।

यसैगरी, नविकरणीय उर्जा प्रवर्द्धन र विकासका क्षेत्रमा लव्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा नविकरणीय उर्जा प्रवर्द्धन कम्पनी स्थापनाका लागि सर्वसम्मतिबाट आवश्यक तयारीको लागि उपयुक्त अनुभवी र क्षमताशील व्यक्तिहरूलाई जिम्मेवारी दिने र यस क्षेत्रका समस्त विज्ञहरुका साथै व्यवसायीहरूलाई कम्पनीमा आवद्ध हुन र सामूहिक प्रयास मार्फत क्लाइमेट एक्सन र आरई इन्नोभेसनका साथै प्रवद्र्धन र विकासका लागि हातेमालो गर्न सहभागि हुन आह्वान गर्ने निर्णय भएको जनाइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img