काठमाडौँ । विद्युत् विकास विभागले १५ मेगावाटको सौर्य आयोजनालाई निर्माण अनुमति दिने तयारी गरिरहेको छ । विभागले पशुपति रिन्युएबल्स लिमिटेडले अघि बढाएको सौर्य आयोजनालाई अनुमति दिने तयारी गरेको हो ।
यो आयोजना कपिलवस्तुको शिवराज नगरपालिका–६ मा रहेको छ । विभागले अनुमति दिनु अघि सोलार फार्म निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन आग्रह गरेको छ । विभागले अनुमति दिएपछि कम्पनीको परियोजनाको काम थाल्ने तयारी गरेको छ ।
आयोजना पूरा भएपछि वार्षिक सरदर ३०.२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ३३ केभी प्रसारणलाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको शिवपुर सबस्टेसनमा जोडिनेछ ।
आयोजनाका लागि शिवराज नगरपालिका–६ मा करिब १७ हेक्टर जग्गा आवश्यक पर्नेछ । आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरूबाट डीसी विद्युत निकाली २०० किलोवाट क्षमताकाम ७५ वटा स्ट्रिङ इन्भर्टरमार्फत १५ मेगावाट विद्युत उत्पादन गरिनेछ । यो आयोजना २०८१ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
कम्पनीले १० मेगावाटको धरमपुर सौर्य आयोजना पनि निर्माण गरिरहेको छ ।