काठमाडाैँ । बुटवल पावर कम्पनी राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार २०२३ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएकाे छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हालै सम्पन्न एक कार्यक्रममा कम्पनीलाई पावर र उर्जा क्षेत्रबाट उक्त अवार्डले सम्मान गरेको हो ।
आईक्यानले आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनको आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सम्मान गरेको जनाएको छ । उक्त सम्मान उपप्रधान त था अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई प्रदान गरे ।
उक्त प्रतिवेदन अब साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ मा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लाका करीव ६३ हजार ग्राहकलाई विद्युत वितरण गरी आएको जानकारी दिएको छ ।