Sunday, December 15, 2024
spot_img

तल्लो अरुण निर्माण गर्न प्रस्तावित ५७९२ करोड लगानी स्वीकृत

spot_img

Share

spot_img

काठमाडौँ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगम (एसजेभीएन)ले नै अघि बढाएको ६६९ मेगावाटको तल्लो अरुण विकास गर्न प्रस्ताव गरिएको लगानी स्वीकृत भएको छ । आर्थिक मामिलासम्बन्धी क्याबिनेट कमिटी (सीसीईए) ले ५ हजार ७९२ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा समितिले अगष्ट २ (साउन १८ गते) आयोजना विकास गर्न प्रस्तावित ५७९२.२६ करोड लगानी स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।

समितिले आयोजनाको कार्यान्वयनका लागि नेपालमा स्थापना भएको एसजेभीएनको पूर्ण स्वामित्वको सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड (एसएलपीडीसी) लाई ‘एक्स–पोस्ट फ्याक्टो’ स्वीकृती प्रदान गरेको छ । यसका साथै समितिले एसएलपीडीसीमा १७३७.७० करोड रुपैयाँ लगानीका लागि स्वीकृति दिएको छ ।

यो आयोजना प्रदेश नम्बर १ को संखुवासभा जिल्लाको अरुण नदीमा निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको तल्लो भागमा अघि बढाइएको छ । आयोजनामा १६७.२५ मेगावाटका ४ वटा युनिट रहने छ । यो परियोजनाले वार्षिक २९०० मिलियन युनिट ऊर्जा उत्पादन गर्नेगरी डिजाइन गरिएको छ ।

आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पीडिए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ ।

आयोजनाको काम ५ वर्षभित्र अर्थात लगानी स्वीकृत भएको मितिले ६० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । उत्पादित विद्युत् बिहारको सीतामढीसम्म निर्माणाधीन २१७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत प्रवाह गरिनेछ ।
सन् २०२३ जुन १ मा लगानी बोर्ड र एसजेभीएनबीच परियोजना विकास सम्झौतामा हस्ताक्षर भएको थियो ।

एसजेभीएन नेपालको सामाजिक–आर्थिक विकासमा प्रमुख साझेदार र भरपर्दो लगानीकर्ता हो । यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल र भारतीय ग्रिडमा पूर्ण रूपमा प्रयोग हुनेछ र ग्रिड स्थिरता प्रदान गर्न मद्दत गर्नेछ । ग्रिडमा बहुमूल्य नवीकरणीय ऊर्जा थप्नुका साथै, परियोजनाले वार्षिक लगभग २६ लाख टन कार्बन उत्सर्जनमा कमी ल्याउने अपेक्षा गरिएको छ ।

आयोजनाले भारतीय निर्माण व्यवसायीलाई निर्माण कार्यमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै भारतबाट नेपालतर्फ निर्माण सामग्री तथा उपकरण निर्यात गर्ने अवसर समेत प्रदान गर्नेछ । यसले दुवै देशका नागरिकलाई रोजगारीको अवसर प्रदान गरी दुई देशबीचको द्विपक्षीय सम्बन्धमा सुधार ल्याउनेछ ।

हाल एसजेभीएनले नेपालमा ९०० मेगावाटको अरुण–३, ६६९ मेगावाटको तल्लो अरुण र ६३० मेगावाटको अरुण–४ गरी तीन वटा जलविद्युत् आयोजना अघि बढाइरहेको छ ।

सतलज कम्पनीले निर्माण गरिरहेको अरुण ३ को ‘टेलरेस’ बाट निस्केको पानी सिधैँ प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना असाध्यै आकर्षक मानिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img