काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण पूरा नगर्दा १५३.५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण सम्पन्न गरेको १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनिश्चि बनेको छ ।
प्राधिकरणले चिलिमे हब सबस्टेसन र चिलिमेदेखि त्रिशुली ३‘बी’सम्मको २२० केभी लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएका हुन् । प्रसारण लाइन अभावकै कारण विद्युत् उत्पादन हुन नसक्दा आयोजनालाई अर्बौ रुपैयाँको आर्थिक नोक्सानी पर्ने देखिएको छ ।
विद्युत् उत्पादन गर्न तयारी अवस्थामा रहेपनि बिजुली प्रवाह हुने प्रसारण लाइनको अनिश्चिताले निर्माण सम्पन्न आयोजना प्रभावित भएका छन् ।
कम्पनीको सहायक रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको रसुवागढी जलविद्युत् आयोजनाको सम्पूर्ण कार्य सम्पन्न भई प्रसारण लाइनको पर्खाइमा छ । त्यस्तै, सान्जेन जलविद्युत् कम्पनीले निर्माण सम्पन्न गरेको सान्जेन जलविद्युत्को २ वटा युनिट तयार भइसकेका छन् ।
प्राधिकरणले लाइन तयार हुनासाथ विद्युत् आपूर्ति गर्ने तयारी अवस्थामा रहेको जनाइएको छ । तेस्रो युनिट पनि आगामी १५ दिनभित्र तयार हुने गरी काम अघि बढाइएको छ । यही कम्पनीले निर्माण सम्पन्न गरेको १४.८ मेगावाटको माथिल्लो सान्जेनले भने गत असोजदेखि नियमीत विद्युत् उत्पादन गरिरहेको छ ।
प्रसारण लाइन निर्माण अन्तिम चरणमा
चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली–३‘बी’ हब २२०/१३२/३३ केभी सबस्टेसन सम्पन्न भइसकेको छ ।
करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली ३‘बी’ हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ ।
सबस्टेसनबाट नेपालको समग्र विद्युत प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ । चिलिमे हब–त्रिशूली ३‘बी’ हब प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणालीआयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हब २२० केभी सबस्टेसनदेखि त्रिशूली ३‘बी’ हबसम्मको २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन र चिलिमे हब २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छन् ।
अनुमानित लागत ६ अर्ब १९ करोड रुपैयाँ रहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू) तथा इयूको अनुदान सहयोग रहेको छ । इयूले स्थापना गरेको इआइबीले आयोजनामा सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली ३‘बी’ हब सबस्टेसन निर्माण गरिएको हो । प्रसारण लाइन तथा सबस्टेसनबाट करिब १ हजार २०० मेगावाट विद्युत् प्रवाह हुन सक्दछ ।
कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावर रहनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।