काठमाडाैँ । अविरल वर्षासँगै आएको बाढीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साढे १६ सय मेगावाटका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बंगालको खाडीमा उत्पन्न भएको जलवाष्पयुक्त वायुको सक्रिय वहावका साथै न्यून चापिय प्रणालीको प्रभावका कारण असोज १० गते बेलुकादेखि निरन्तर भएको वर्षाका कारण निर्माण सम्पन्न तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको हाे ।
आइतबार ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालयले पत्रकार सम्मेलन गरी असोज १३ गतेसम्म मुलुकभर भएको निरन्तर वर्षाका कारण १६३६.२५ मेगावाटका जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिएको छ । अझै थप विवरण आउन बाँकी रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सञ्चालनमा रहेका कूल ६२५.९६ मेगावाटका ११ र निर्माणाधीन १०१०.२९ मेगावाटका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको बताए । उनले आपलतकालीन अवस्थामा अधिकांश विद्युतगृहको उत्पादन समेत बन्द रहेअनुसार करिब ११०० मेगावाट बिजुली उत्पादन रोकिएको जानकारी दिए ।
बाढी र पहिरोका कारण जलविद्युत् आयोजनातर्फ २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको पनि उनले जानकारी दिए । हालसम्म प्राप्त तथ्यांक अनुसार नदी नियन्त्रण तथा सिँचाई समेत गरी कुल करिब १ अर्ब ३५ करोड र विद्युत आयोजनातर्फ करिब ३ अर्ब गरि कुल करिब ४ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
उनले विपद्का पूर्वजानकारीका कारण क्षति कम भएको बताए । ‘गत वर्ष १० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो, यो वर्ष पूर्व जानकारी पाएकोले क्षति कम भएको छ,’ उनले भने, ‘यस्ता विपदबाट जोगिन, क्षति घटाउनका लागि मन्त्रालय अन्तर्गतनै मौसम पूर्वानुमान एप्स बन्दै छ, यसमा सबै जोडिन जरुरी छ ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो बाढीले सबैभन्दा बढी क्षति ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पुर्याएको बताए । माथिल्लो तामाकोसीको हेडवर्क्सको कन्ट्रोल रुम पूर्ण रुपमा, सेटलिङ बेसिन लगायतमा ठूलो क्षति पुगेको छ । ‘विद्यृतगृह विगत ३ दिनदेखि बन्द छ । माथिल्लो तामाकोसीबाट वार्षिक रुपमा ८/९ अर्ब रुपैयाँ बराबरको विद्युत् उत्पादन हुन्छ’ उनले भने, ‘अझै क्षति यकिन गर्न बाँकी छ, मर्मत संभार गर्न समय लाग्छ । लामो समयसम्म उत्पादन बन्द हुँदा राज्यले ठूलो नोक्सानी बेहोर्नुपर्छ । यसपाली हिउँदमा विद्युत् व्यवस्थापन गर्न समस्या हुन्छ । आयात बढाउनुपर्छ ।’
हालसम्म क्षति भएकामध्ये सबैभन्दा बढी क्षति बागमति सानो र हेवा खोलाका भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । उनले यो दुई आयोजनाको मात्रै दुई अर्ब बढीको क्षति भएको जानकारी दिए ।
‘बाढीले आयोजनामा क्षति पुर्याउँदा लागत सँगै समय तालिका पनि लम्बिन्छ, उपकरण आयात गर्न समस्या छ । यसका लागि आरसिओडी र करको समस्या समाधान गर्नुपर्यो,’ उनले भने, ‘जलविद्युत् बिमाको पैसा पनि तत्काल पाउने व्यवस्था गर्नुपर्यो । गत वर्षको अझै दाबी भुक्तानी भएको छैन । इन्सुरेन्स बिजनेस मोडालिटी बनिसकेको छ । यस्ता समस्या समाधानका लागि नीतिगत सुधार गर्नुपर्यो ।’
वार्षिक रूपमा बाढी पहिराेले जलविद्युत आयाेजनामा ठूलाे क्षति पुर्याउँदै आएकाे छ । तर, हालसम्मकाे क्षति न्यूनिकरण तथा क्षति भएका आयाेजनाकाे समस्या निराकणका लागि केही ठाेस कदम चालेकाे देखिदैन । बाढीले क्षति पुर्याएका आयाेजनाकाे अझै बीमा दाबी भुक्तानी भएकाे छैन, आवश्यक उपकरण आयात करकाे समस्या अझै समाधान हुन सकेकाे छैन । यस्ताे अवस्थामा थप समस्या थपिनु र यसकाे लागि प्रभावकारी कदम नउठाउनाले सरकार आफैले लिएकाे २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हाेला त ? भन्ने प्रश्न खडा हुन थालेका छन् ।
प्रसारण लाइनतर्फको क्षति
बाढीले काबेली कोरिडोर, सोलु कोरिडोर लगायतका प्रसारण लाइनमा क्षति पुर्याएको छ । काबेली कोरिडोरको ३ वटा टावर अर्थात टावर नम्बर ५०, ५१ र ५१ मा क्षति पूग्दा करिब २०० मेगावाट बराबरको विद्युत् उत्पादन प्रभावित भएको छ । यो कोरिडोरको ७ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको घिसिङले जानकारी दिए । यसैगरी, सोलुकोरिडोरमा क्षति पुगेको छ । यो कोरिडोरसँग आवद्ध सबस्टेसनमा समेत क्षति पुगेको छ ।
खिम्ती लामोसाँघु प्रसारण लाइन २ वटा टावरमा क्षति पुग्दा १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । जसबाट करिब २०० मेगावाटका जलविद्युत् आयाजना प्रभावित भएका छन् । ‘बाढीले खिम्ती ढल्केबर लाइनको एउटा टावर पनि क्षति पुर्याउन सक्ने देखिएकोले यसको वैकल्पिक खाजिरहेका छौँ’ उनले भने, ‘बाढीले यो टावरमा क्षति पुर्यायो भने करिब ८०० मेगावाट विद्युत् प्रवाहमा समस्या आउँछ ।’ चमेलिया कोरिडोरमा पनि समस्या देखिएको छ । यो समस्या एकदुई दिनभित्र समाधान गर्ने पनि घिसिङले आश्वासन दिए ।
उनले बाढीका कारण भारतसँग गरिएको बिड बराबरको विद्युत् निर्यात गर्न नसक्दा पेनाल्टी तिर्नुपर्न अवस्था सिर्जना भएको पनि जानकारी दिए ।
सिँचाइतर्फको क्षति
बाढी पहिरोले सिँचाइ तर्फपनि ठूलो क्षति पुर्याएको छ । निर्माणाधीन तथा निर्माण सम्पन्न सिँचाइ आयोजनामा बाढीले करिब १९ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति हुँदा ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बागमति सिंचाई आयोजनामा पूर्वी मूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा क्षति पुगेको छ जसबाट ५ करोड ४० लाख रुपैया बराबरो क्षति पुगेको अनुमान गरिएको छ ।
झाँझ सिंचाइ आयोजना अन्तर्गतको नहरमा ३ करोड, कोशि पम्प चन्द्र नहर आयोजनामा माहुली खोलाले क्षति ५० लाखको क्षति भएको छ । कमला सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको, घुर्मि नदिमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदिमा रहेको साइफनमा क्षति पुर्याइ उच्च जोखिममा रहेको छ । यसबाट ५ करोडको क्षतिको अनुमान गरिएको छ ।
नारायणी सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कट्टान गरी नहरमा सामान्य क्षति हुँदा १० लाख क्षतिको अनुमान छ । सुनकोशि मरिन डाइभर्सन बहुउध्येशीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधिन कफर ड्याम डुवानमा परेक तथा रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको हुनाले ठूलो क्षति भई लागत अनुमान गर्न कठिन भएको छ । महाकाली सिंचाई आयोजना, कन्चनपुर लगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको बाढीले ठूलो क्षति पुर्याई करिब १ अर्ब १४ करोडको क्षति भएको छ ।
नदी नियन्त्रणतर्फ
निरन्तर परेको बर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ जम्मा करिब १ अर्ब १६ करोड २० लाख क्षति पुर्याएको छ । मेची नदीले मेचीनगर न.पा. को प्रसादगैडा र मलामीटहरा र भद्रपुर न.पा. गैरी गाउँ, बिरिङ्ग नदीले झापा गा पा रेडक्रस टोल र हुलाकी राजमार्गको तल माथी क्षेत्रमा साथै कन्काई नदीले हुलाकी राजमार्गको तल माथी क्षेत्रमा, झापा गा पा को मिलनबस्ती र सुगा बथान एवं रतुवा नदीले रतुवा न पा राजाबासा, गौरादह न पा तेलियाडाँगी र मावा नदीले दमक न पा पाथीभरा मन्दिरमा क्षति पुर्याएको २१ करोडको नोक्सान भएको छ ।
कोशी नदीले बेलाका न पा, बक्राहा नदीले मिक्लाजुंग, पथरी सनिश्चरे, रतुवामाई, चिसांग नदीले लेटाङ्ग, बेलबारी साथै डाँस नदीले रंगेली र लोहन्द्रा नदीले बेलबारी एवं बस्ता खोलाले बिराटनगर क्षेत्रमा ५ करोड ४० लाख रुपैयाँको क्षति भएको छ ।
खाँडो नदीले शम्भुनाथ न.पा., रुपनी ग.पा. , राजविराज न.पा., तिलाठी कोइलाडी ग.पा. महुली नदीले तिरहुत ग.पा., कन्चनरूप न.पा., कंकालनी न.पा., कृषणासोवरन ग. पा. साथै बलान नदीले लहान न.पा., सखुवानन्करकट्टी न. पा., बालन बिहुल ग. पा., सुरुङ्गा न.पा.मा ९ करोड ८० लाख रुपैयाँको क्षति पुगेको अनुमान गरिएको छ ।
रातो नदीले महोत्तरी गापा, बर्दिवास नपा, बलबा नपा, जलेश्वर नपा, भंगहा नपा र मरहा नदीले सोनमा गापा एवं औरही नदीले लोहारपट्टी नपा, मुखियापट्ठि नपा, मुसहरनिया गापा र तिपरा गापामा क्षति पुर्याउँदा ४ करोड रुपैयाँको नोक्सान भएको अनुमान छ ।
लखनदेही नदीले बरहथवा न पा, कौडेना न पा, हरिपुर न पा, र ब्रमहपुरी न पा तथा झिम नदीले कौड्ना न.पा मा ४ करोड, कमला नदीले कल्याणपुर न.पा., सिरहा न.पा., कमला न.पा., सवैला न.पा. र दुधौली न.पा.मा ५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
लालबकैया नदीले मौलापुर नपा, बौधिमाई नपा, परोहा नपा, राजपुर नपा, कटहरिया नपा साथै बाग्मति नदीले बृन्दाबन नपा, गदीमाई नपा, माधवनारायण नपा, दुर्गाभगवती गा पा, राजदेवा नपा, बसबरीया गा पा , धनकौल गा पा र रामनगर गा पा मा क्षति भएको छ । जसबाट २० करोड रुपैयाँको क्षति भएको छ ।
नारायणी नदीले भरतपुरको कोटरी, अन्द्रौली, खोल्सीघाट, बलुवा भरतपुर, मझुवा, सिस्वार मध्यबिन्दू न पा सेरी, नन्दपुर, कावासोती न पा अमलटारी नवलपरासीमा बैंकमा क्षति पुग्दा २३ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ । मर्स्याङ्दी नदीले मनाङ्गको ताल क्षेत्र, दरौदी नदीले छेपेटार, चोरकाटे, जरेबर, नयासाङ्घु, भालुस्वारा, ल्याङ्दीमा तथा अन्य विभिन्न नदीले भानु न.पा. म्यग्दे न.पा., ब्यास न. पा., शुक्लागण्डकी न.पा. मा क्षति पुर्याएको छ । यसको अनुमानित क्षतिको लागत ८ करोड ५० लाख रुपैयाँ रहेको छ ।
तिनाउ नदीले बुटवलमा २ वटा बेडबारमा क्षति पुग्दा १५ करोड, बाणगंगा नदीले बाणगंगा न पा र महाराजगंज नपामा क्षति पुग्दा ६ करोड, पश्चिम राप्ति नदीले गड्वा गा.पा., राप्ति सोनार गा.पा., तथा बबई नदीले घोराही उप म.न.पा. र तुल्सीपुर उप म.न.पा. मा क्षति पुग्दा ५ करोड ५० लाख र कर्णाली नदीले राजापुर न.पा.को दलैघाट, अनन्तपुर, तिहुनी र बन्घुस्रामा क्षति पुर्याउँदा ३ करोड ५० लाख रुपैयाँ बराबरको नोक्सान भएको छ ।
बाढी क्षति पुर्याएकाे आयाेजनाकाे थप विवरण
https://urjasanchar.com/wp-content/uploads/2024/09/press-release-of-mantralaya.pdf