काठमाडौँ । काठमाडौँबाट करिब ७२ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजना निर्माण भइरहेको छ । रिडी पावर कमपनी लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको निर्माण साझा पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ ।
२०८१ साउनदेखि निर्माण सुरु भएको आयोजनाको सुरुङ खन्ने काम अन्तर्गत मुख्य सुरुङको आउटलेटतर्फको सुरुङमा पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनामा ५.५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपाली सेनाको बाहिनीपति, स्थानीय नगर प्रमुख, कम्पनीका अध्यक्ष, सञ्चालकहरू, कर्मचारीहरू, ठेकेदार कम्पनीका प्रतिनिधिहरू र स्थानीय नागरिक लगायत सरोकारवालाहरूको उपस्थितिमा पहिलो पहिलो ब्लास्टिङ भएको हो ।
यो आयोजनाको बाँधस्थल बलेफी गाउँपालिकाको जलविरेमा र विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा अवस्थित छ । निर्माणाधीन आयोजनाको काम २०८२ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
यो आयोजना पूरा भएपछि वार्षिक १०५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । सो विद्युत् बिक्रीबाट पहिलो वर्ष ६२.३० करोड रुपैयाँ आम्दानी हुनेछ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा ४.८० रुपैयाँ र सुख्खायाममा ८.४० रुपैयाँमा खरिद गर्नेछ । यो आयोजनाले ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्यवृद्धि दर प्राप्त गर्नेछ ।
ठेकेदार कम्पनी
आयोजनाको सुरुङअन्तर्गत इन्लेट पोर्टलको निर्माण जिम्मा जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले पाएको छ । यसैगरी, अडिट सुरुङ निर्माणको काम देवकोटा निर्माण सेवा प्रालिले पाएको छ । आयोजनाको विद्युतगृहको निर्माण जिम्मा ककनीदेवी निर्माण सेवा प्रालिले र बाँध क्षेत्रको बन्दना भगवती पोखरेल जेभीले पाएको छ ।
लागत साढे ४ अर्ब
निर्माणाधीन आयोजनाको काम सम्पन्न गर्न ४ अर्ब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसमध्ये २ अर्ब ९५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको लगानी रहने र बाँकी स्वपूजी लगानी जुटाउने गरी प्रबन्ध मिलाइएको छ । आयोजनामा कुमारी बैंकको अगुवाईमा कृषि विकास बैंक र सिटिजन्स बैं इन्टरनेशनल लिमिटेडले ऋण लगानी गरेका छन् ।
स्वपूँजी लगानीतर्फ रिडी पावर कम्पनीको ५५ प्रतिशत अर्थात ७८ करोड, स्थानीय र सर्वसाधारणको ३० प्रतिशत र अन्य सेयरधनीको १५ प्रतिशत सेयर लगानी रहेको छ । यस आयोजनामा सेयर लगानी गर्न रिडी पावरले १०ः५० को अनुपातमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरी ७७ करोड ४४ लाख ४० हजार ६ सय रुपैयाँ रकम जुटाइसकेको छ ।