काठमाडाैँ । सरकारले सन् २०२५ देखि २०३५ सम्म १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्मा लगेको मार्गचित्र गत पुस १६ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको एक सातापछि सार्वजनिक गरिएको उक्त मार्गचित्रमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न करिब ५० अर्ब अमेरिकी डलर लगानी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरूको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरू प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनाबद्ध एवं समयक्रमानुसार विकास गर्न सन् २०२४ देखि सन् २०३५ सम्मको ऊर्जा विकास मार्गचित्र तयार गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयाेजना गरेर मन्त्री खड्काले २८ हजार ५०० मेगावाट उत्पादन गर्न सम्भव हुने आधार पहिल्याएर नै मार्गचित्र स्वीकृत भएकाे बताए । यो लक्ष्य हासिल गर्न केही समस्या नरहेको पनि उनले बताए । यसका लागि आवश्यक लगानी, पूर्वाधार निर्माण लगायत नीतिगत तथा प्रशासनिक सुधारको प्रक्रिया पनि सुरु गर्ने तयारी भइरहेको बताए । साथै, उनले मार्गचित्र कार्यन्वयनका लागि छुट्टै समिती गठन गरी दैनिक प्रगतिकाे कार्यन्वयन र अनुगमन गर्ने बताए ।
नेपाल सरकार, मन्त्रिपरिषद्द्घारा मिति २०८१ पुस १६ मा स्वीकृत भएको छ । उक्त मार्गचित्रमा आगामी दशक अर्थात सन् २०३५ सम्ममा ऊजा उत्पादनतर्फ प्रक्षेपित आन्तरिक विद्युत मागको आपूर्ति र निर्यात गर्न कुल विद्युत जडित क्षमता २८,५०० मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।
विद्युत प्रसारण लाइनतर्फ १३२ के.भि. का. ६ हजार ४३१ सर्किट कि.मि. २२० के.भि. का ४ हजार ६१ सर्किट कि.मि. र ४०० के.भि. का ६ हजार ४४० सर्किट कि.मि. प्रसारण लाइनको निर्माण सम्पन्न गरी सब–स्टेसनहरूको क्षमता ४०,००० एम.भि.ए. पुर्याउने लक्ष्य लिइएको छ ।
त्यसैगरी, विद्युत व्यापारतर्फ छिमेकी मुलुकहरू भारतमा १० हजार मेगावाटसम्म र बङ्गलादेशचीनमा ५ हजार मेगावाट गरी जम्मा १५ हजार मेगावाट विद्युत निर्यात गरिने लक्ष्य राखिएको छ । यी लक्ष्य प्राप्तिका लागि बिद्युत उत्पादन, प्रसारण तथा वितरणको संरचनाहरूका लागि कुल लगानी ४६.५ अर्व अमेरिकी डलर आवश्यक पर्ने देखिन्छ ।
यस लगानीको व्यवस्थापन नेपाल सरकार, निजी क्षेत्र, सर्वसाधारण र वैदेशिक लगानीका साथै गैर आवासीय नेपाली तथा वैदेशिक रोजगारमा कार्यरत नेपालीको पुँजीको परिचालनबाट गरिनेछ । यस मार्गचित्रको प्रभावकारी कार्यान्वयनगको लागि समयबद्ध ८१ बुँदे कार्ययोजना पनि तयार गरिएको छ, जसमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनको लागि मुख्य जिम्मेवार र सहयोगी निकायहरु समेत तोकिएको छ ।